INSEC Online

📅 २०८३ जेष्ठ २१

उपनिर्वाचनका लागि भन्दै तीन दिन विद्यालय बन्द, पठनपाठन अबरूद्ध

यही मङ्सिर १४ गते भक्तपुर क्षेत्र नं. १ प्रदेश (क) मा हुने उपनिर्वाचनका लागि भक्तपुरका १५ ओटा सामुदायिक विद्यालयहरू तीन दिनका लागि बन्द भएपछि पठनपाठन अबरूद्ध भएको छ ।

निर्वाचन आयोगले उपनिर्वाचनका मतदान केन्द्र राखेपछि यहाँका १५ ओटा विद्यालयहरू मङ्सिर १२ गतदेखि १४ गतेसम्म बन्द भएको हो ।

चाँगुनारायण नगरपालिकाका १० ओटा वडा र भक्तपुर नगरपालिका–१० मा रहेका सामुदायिक विद्यालयहरूमा मतदान केन्द्र स्थापना गरेपछि १५ ओटा सामुदायिक विद्यालयको पठनपाठन बन्द हुने भएको चाँगुनारायण नगरपालिका शिक्षा शाखाका इञ्न्चार्ज वीरबहादुर खड्काले जानकारी दिनुभयो ।

सामुदायिक विद्यालयलाई सुरक्षित मतदान केन्द्र मानेर छनौट गरेकाले विद्यालयले कुनै अवरोध सृजना नगरी विद्यालय बन्द गर्नु परेको उहाँले बताउनुभयो ।

उपनिर्वाचनका लागि चाँगुनारायण नगरपालिका भित्रका आजात मावि, नाप्चा, न्याचोपौवा आधारभूत विद्यालय, चुनादेवी मावि, सरस्वती उमावि थाकलमाँठ, गणेश मावि ताथली, चाँगुनारायण मावि न्यौपाने गाउँ, यापी भैरब मावि,  बालभूषण मावि कोल्पाकोट, नाट्यश्रवरी आधारभूत विद्यालय, वागेहिटी मावि वागेश्वरी, राधाकृष्ण माध्यामिक विद्यालय, वाल्मिकी आधारभूत विद्यालय, श्रीकृष्ण मावि खरिपाटी, महेन्द्रग्राम मावि र भक्तपुर नगरपालिका–१० को सरस्वती विद्यागृह माविमा मतदान केन्द्रका लागि विद्यालय बन्द भएको हो । ।

विद्यालय र विद्यार्थीलाई सरकारले शान्ति क्षेत्र घोषणा गरेको आठ वर्ष बितेपनि अझै कार्यान्वयनमा आउन नसकेको प्याब्सन भक्तपुरका पूर्व अध्यक्ष श्रीकृष्ण केसीले बताउनुभयो ।

०६८ जेठ ११ गते नेपाल सरकारले विद्यालयलाई शान्ति क्षेत्र घोषणा गरेपनि कार्यान्वयनमा भने आउन नसकेको उहाँले बताउनुभयो ।  उपनिर्वाचनको तयारीका लागि उचित व्यवस्थापन, कम्पाउण्ड र अन्य मर्मत सम्भारको काम हुने भएकाले विद्यालय बन्द गर्नुपरेको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले जानकारी दिनुभयो ।

अन्य

भिडियो