लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सिन्धुलीमा विभिन्न कार्यक्रम गरी मनाइँदैछ । मूल आयोजक समिति कमलामाई नगरपालिका सिन्धुलीको आयोजनामा मङ्सिर ९ गते सिन्धुलीमाढीमा र्याली तथा कोणसभा गरिएको छ । र्यालीमा इन्सेकलगायतका संस्थाहरूको सहभागिता रहेको थियो ।
समितिले कमलामाई नगरपालिका र नगरमा क्रियाशिल सङ्घसंस्था तथा नागरिक समाज, विभिन्न सञ्जाललगायतको सहकार्यमा १६ दिनसम्म १४ ओटै वडामा कार्यक्रम गर्ने जनाएको छ ।
मूल आयोजक समितिका संयोजक एवम् कमलामाई नगरपालिका सिन्धुलीका उपप्रमुख मञ्जु देवकोटाले र्यालीपछिको कोणसभालाई सम्बोधन गर्दै तय भएका कार्यक्रम समेत सार्वजनिक गर्नुभएको छ ।
सार्वजनिक गरिएको उक्त कार्यक्रममा इन्सेकको सहयोगमा बनेको जिल्लास्तरीय मानव अधिकार सञ्जालले १० डिसेम्बर विश्व मानव अधिकार दिवसका अवसरमा माविस्तरीय वक्तृत्वकला प्रतियोगिता गरिने र सोहि अवसरमा अभियानको समापन गरिने कार्यक्रम तय भएको छ ।
समानताको पुस्ताः बलात्कार विरूद्धको ऐक्यबद्धता भन्ने मूल नाराका साथ कमलामाई नगरपालिका कार्यालय अगाडिबाट सुरू भएको र्यालीले माढीबजार परिक्रमा गरी खुलामञ्चमा पुगी कोणसभामा परिणत भएको थियो ।
र्यालीमा सहभागीहरूले घरेलु श्रमको सम्मान गरौँ, लैङ्गिक हिंसा अन्त्यको लागि सबै जुटौं, कोही नछुटौँ, लैङ्गिक हिंसाको मूल आधारः संरचनागत विभेदको अन्त्य लगाएतका नारा सहितका सन्देशमूलक सूचनाहरू प्रदर्शन गरेका थिए ।

