‘घर शान्ति नै विश्व शान्तिको आधारः दिगो विकासका लागि लैङ्गिक हिंसा रहित समाज’ भन्ने नाराका साथ मङ्सिर १० गतेबाट देशैभर लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु भएको छ ।
पछिल्लो समय हिंसाका घटनाहरूको अभिलेख बढेका कारण समाजमा जागरण ल्याउने उद्धेश्यले आजदेखि १६ दिनसम्म देशैभर विशेष अभियान सञ्चालन गरिने राष्ट्रिय महिला आयोगले जनाएको छ ।

प्रत्येक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सञ्चालन गर्ने गरिएको छ ।
सन् १९६० मा डोमिनिकन गणतन्त्रका मिरावेल परिवारका तीन जना दिदीबहिनीलाई तत्कालीन त्रुजिलो तानाशाही सरकारले निर्मम हत्या गरेको थियो । उक्त हत्यालाई लिङ्गका आधारमा हुने राजनीतिक हिंसाको रूपमा लिने गरिन्छ । एकै परिवारका तीन जना दिदीबहिनी पेट्रिया, मिनर्भा र मारियाको हत्यालाई महिलाविरुद्धको हिंसाको रूपमा लिएर उनीहरूको सम्मान र सम्झनाका लागि १६ दिने अभियान मनाउन थालिएको हो ।
हिँसामा परेका महिलालाई नजिकैको प्रहरी, राष्ट्रिय महिला आयोग वा मानव अधिकार संस्थाहरूमा उजुरी दिएर न्याय प्राप्तिको लागि आवश्यक सहयोग माग्न अभियानमार्फत आह्वान गरिएको छ ।

महिला, बालबालिका तथा समाज कल्यण मन्त्रालय, राष्ट्रिय महिला आयोग र गैरसरकारी संस्थाहरूसमेतको सहभागितामा मङ्सिर १० गते महिला हिंसा विरुद्धको १६ दिने अभियानका क्रममा काठमाडौँको भृकुटीमण्डपबाट निकालिएको र्याली भद्रकाली, न्यूरोड हुँदै बसन्तपुर डवलीमा पुगेर सभामा परिणत भएको छ ।
सभालाई सम्बन्धन गर्दै युवा तथा खेलकुद मन्त्री दलजित विके श्रीपाइलीले लैङ्गिक हिंसालाई मानवता विरुद्धको अपराध मानिएकाले यसको अन्त्यका लागि सरकारले विभिन्न अभियान सञ्चालन गरिरहेको बताए ।
महिला, बालबालिका तथा समाज कल्यण मन्त्रालयका सचिव विष्णुप्रसाद लम्सालले लैङ्गिक हिंसा शुन्यताका लागि र यसको अन्त्यका लागि एक हुनु पर्ने बताए ।

नागरिक समाजका तर्फबाट गैर सरकारी संस्था महासङ्घका वरिष्ठ उपाध्यक्ष तथा इन्सेक मध्यमाञ्चल क्षेत्रीय कार्यालयका संयोजक कृष्ण गौतमले महिला हिंसा अन्त्यका लागि जनचेतनामूलक कार्यक्रम गर्नुपर्ने बताउँदै लैङ्गिक हिंसा अन्त्यका लागि सरकारले नयाँ कार्यक्रम ल्याउनु पर्नेमा जोड दिए ।
राष्ट्रिय महिला अयोगकी कार्यवाहक अध्यक्ष भगवती घिमिरेले भनिन्-‘हिंसा कसैले गर्नु हुँदैन । हिंसा सहिँदैन भनेर नै महिला हिंसा विरुद्धको १६ दिने अभियान सुरु गरिएको हो ।’
दैनिक रूपमा महिलामाथि हिंसा भइरहेकोले यसको अन्त्यका लागि सबै एक भएर लाग्नु पर्नेमा उनले जोड दिइन् ।

र्यालीमा अधिकारका क्षेत्रमा क्रियाशील इन्सेक, महिला तथा बालबालिका बेचबिखनविरुद्ध सहकर्मी समूह नेपाल (एटवीन), वियोण्ड बेइजिङ कमिटी, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल बार एशोसिएशन, जागरण नेपाललगायतका संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
सहभागीहरूले मानव अधिकार सबैको लागि, महिला हिंसा अन्त्य गरौँ कुरा हैन काम गरौँ, खुलेर बोलौँ विभेद रोकौँ, महिला हिंसा रोकौँ लगायत लेखिएका प्लेकार्डसहित सहभागी थिए ।
यसैगरी नुवाकोट जिल्ला प्रतिनिधि नवदिप श्रेष्ठका अनुसार ‘लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान’का सन्दर्भमा मङ्सिर १० गते विदुरमा महिला तथा बालबालिका कार्यालय र इन्सेकलगायतका संस्थाहरूले र्याली प्रदर्शन गरेका थिए ।
इन्सेक इलाम जिल्ला प्रतिनिधि कोकिला ढकालका अनुसार मङ्सिर १० गते बिहान ठूलो टुँडिखेलबाट शुरु भएको र्यालीले बजार परिक्रमा गरेर चोक बजारमा पुगेर कोण सभामा परिणत भएको थियो । कार्यक्रममा सहभागी भएकाहरूले लैङ्गिक हिंसाको अन्त्यका लागि सबैको सहकार्यको खाँचो औँल्याएका थिए ।

इन्सेक हुम्ला जिल्ला प्रतिनिधि नन्द सिंहका अनुसार हुम्लामा पनि र्यालीसहित कार्यक्रम गरिएको छ । कार्यक्रममा सहभागी भएकाहरूले हिंसा अन्त्यका लागि सञ्चार क्षेत्रको महत्वपूर्ण भूमिका हुने बताएका छन् ।
इन्सेक पश्चिमाञ्चल क्षेत्रीय कार्यालय पोखराका अनुसार महिला तथा बालबालिका कार्यलय, जिल्ला प्रहरी कार्यलय, राष्ट्रिय मानव अधिकार आयोग, इन्सेक तथा विभिन्न सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधि सहभागी र्याली कास्कीको सदरमुकाम पोखरामा स्थीत सभागृहचोकबाट सुरु भई मानव अधिकार चोकमा पुगेर सभा गर्दै सम्पन्न भएको थियो ।
सभामा बोल्दै कास्कीका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीले महिलामाथि हिंसा नगर्ने, महिला हिंसाको उपेक्षा नगर्ने तथा हिंसाका घटनामा चुप लागेर नबस्ने प्रतिवद्धता व्यक्त गरे । उनले र्यालीमा सहभागीहरूलाई समेत प्रतिवद्धताको पालना गर्न आग्रह गरेका थिए ।
कार्यक्रममा महिला तथा बालबालिका कार्यलय कास्कीका प्रमुख महिला विकास अधिकृत लक्ष्मी जिसीले विगतका तुलनामा महिलाहरूमा चेतनास्तर बढेकोले र हिंसाका घटनाको उजुरी समेत बढेको बताइन् ।

त्यसैगरी गोरखा जिल्ला प्रतिनिधि हरिराम उप्रेतीका अनुसार लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा सदरमुकाम गोरखा बजारमा प्लेकार्ड सहित र्याली प्रदर्शन गरिएको छ ।
आफू हिंसामा परेको जानकारी हुँदाहुँदै पनि महिलाहरूले बाध्य भएर हिंसा सहेर बस्नु पर्ने महिला तथा बालबालिका कार्यालय गोरखाकी प्रमुख महिला विकास अधिकृत इन्दिरा अम्गाइले बताइन् । अम्गाइले कतिपय महिलालाई आफू हिंसामा परेपनि कसरी न्याय पाउँछु भन्ने बारेमा जानकारी नभएको बताइन् ।
बाग्लुङ जिल्ला प्रतिनिधि सृजना पन्तका अनुसार बागलुङमा पनि लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत महिला तथा बालबालिका कार्यालय बाग्लुङ र लैङ्गिक हिंसा विरुद्धको जिल्ला संयोजन समितिको आयोजनामा अभियान लैङ्गिक हिंसाको विरोध गर्दै बाग्लुङ सदरमुकाममा प्रभातफेरी गरिएको थियो ।
प्रभातफेरी पछिको कोण सभामा प्रमुख जिल्ला अधिकारी भागीरथ पाण्डेयले हिंसा न्युनीकरणका लागि सचेतना कार्यक्रमको आयोजना गर्नुपर्ने बताए ।

अर्घाखाँची जिल्ला प्रतिनिधि नारायण भुसालका अनुसार सन्धिखर्कमा र्यालीको आयोजना गर्दै अभियानको सुरुवात गरिएको छ । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवाल, महिला तथा बालबालिका कार्यलयका गिता घिमिरे, जिल्ला न्यायधिश केशव प्रसाद बाँस्तोलालगायतले हिंसा अन्त्यका लागि प्रतिबद्ध भएर अभियान चलाउन आवश्यक भएको बताएका छन् ।
त्यसैगरी जिल्ला प्रतिनिधिहरूबाट प्राप्त जानकारी अनुसार तनहुँ, स्याङ्जा, लमजुङ, नवलपरासी, रूपन्देही, कपिलवस्तु, पाल्पा, गुल्मी, पर्वत, म्याग्दी, मनाङ जिल्लामा समेत विभिन्न कार्यक्रमको आयोजना गर्दै लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको सुरूवात गरिएको छ ।
इन्सेक सिरहा जिल्ला प्रतिनिधि दुर्गा परियारका अनुसार महिला तथा बालबालिका कार्यालयको आयोजना तथा इन्सेक, मानव अधिकार रक्षक सञ्जाल, महिला मानव अधिकार रक्षक सञ्जाल, सहयोगी हातहरू, समग्र जनउत्थान केन्द्र, ओरेक, दलित जनकल्याण युवा क्लब, इह्रिकन, मुक्ति नेपाललगायतका सङ्घसंस्थाको सहकार्यमा सिरहामा र्यालीसहित विभिन्न कार्यक्रम गरिएको थियो ।

दाङ जिल्ला प्रतिनिधि जेएन सागरका अनुसार लैङ्गिक हिंसा अन्त्यको सुरुवात आफैबाट गर्नुपर्ने सरोकारवालाहरूले जोड दिएका छन् । लैङ्गिक हिंसा विरुद्धको १६ दिवसीय अभियानका क्रममा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै सरोकारवालाले लैङ्गिकमैत्री व्यवहार अनुशरण गर्ने प्रतिवद्धता समेत जनाए ।
कार्यक्रममा बोल्दै लैंगिक हिंसा अन्त्य तथा लैङ्गिक सशक्तिकरण जिल्ला समितिका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी दीपक काफ्लेले लैङ्गिक हिंसा अन्त्यका लागि लैङ्गिकमैत्री व्यवहार अनुशरण गर्न जोड दिए ।
धनकुटा जिल्ला प्रतिनिधि सन्तोष रुचालका अनुसार आज अवसरमा प्रभातफेरी सहितको र्याली निकालिएको छ । महिला तथा बालबालिका कार्यालयको आयोजनामा मदनचोकबाट शुरु भएको प्रभातफेरी र्यालीले बजारको परिक्रमा गरी भीमनारायण चोक हुँदै पुनः मदनचोकमा आएर कार्यक्रम गरेको थियो ।

र्यालीपछि आयोजित कार्यक्रममा बोल्ने वक्ताहरूले महिला हिंसा अन्त्यका लागि महिला शसक्तिकरणको खाँचो रहेको बताएका छन् । उनीहरूले महिला माथि हुने हिंसालाई घरबाट नै अन्त्य गर्न आवश्यक रहेको बताए ।
रामेछाप जिल्ला प्रतिनिधि नवराज पथिकका अनुसार महिला तथा बालबालिका कार्यालय रामेछापको संयोजन तथा इन्सेकलगायत विभिन्न सामाजिक संस्थाहरूको आयोजनामा मङ्सिर १० गते साँझ मन्थलीको देवकोटा चोकमा दीप प्रज्वलन गरिएको छ ।
कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले महिलामाथि हुने कुनैपनि खालका हिंसा स्वीकार्य नहुने बताए । उनले यो अभियानले घरघरमा शान्तिको दियो बाल्ने आशा गरेको बताए ।
लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको अवसरमा लैङ्गिक हिंसा अन्त्य तथा लैङ्गिक शसक्तिकरण जिल्ला समिति मोरङको आयोजना एवम् इन्सेक, ओरेक, पूर्वाञ्चल मानव अधिकार सञ्जाल, महिला मानव अधिकार रक्षक सञ्जाललगायतका सङ्घसंस्थाको सहकार्यमा विराटनगरमा र्याली प्रदर्शन गरिएको छ । र्याली पश्चात कोणसभा गर्ने क्रममा स्थानीय युवाहरूले लैङ्गिक हिंसाविरूद्ध जनचेतनामूलक सडक नाटक समेत प्रदर्शन गरेका थिए ।
फोटो:इन्सेक जिल्ला प्रतिनिधि र क्षेत्रीय कार्यालयहरु
