मानव वेचविखनमा संलग्न रहेको कसुरमा दाङ जिल्ला अदालतले लालमटिया-३ भालुवाङका ३६ वर्षीय राजकुमार पुन र ४२ वर्षीया मनकला सुनारलाई जनही दुई वर्षकैद गर्ने फैसला गरेको छ ।
न्यायाधीश बलभद्र बास्तोलाको इजलासले मङ्सिर ९ गते दुवै जनालाई दोषी ठहर गर्दै कैद गर्ने फैसला गरेको अदालतका श्रेष्तेदार गम्भीर रानाले बताए ।
आर्थिक प्रलोभनमा पारी भारतमा लगेर दुई जना महिला बेचविखन गरेको भन्दै पुन र सुनारलाई असार २४ गते गिरफ्तार गरेको थियो ।
आफूहरूलाई भारतको गोरखपुर पुर्याएको आरोपमा पीडित महिलाले असार २४ गते जिल्ला प्रहरी कार्यालय दाङमा उजुरी दिएका थिए । गोरखपुर मन्दिरमा रहेका बाबासँग भेटेर पुजा गरे लाखौँ रुपियाँ पाइने प्रलोभन देखाएर असार १२ गते लालमटियाबाट ती दुई युवतिलाई कृष्णनगर हुँदै गोरखपुर पुर्याइएको प्रहरीले जनाएको छ ।
गोरखपुर पुर्याइएका महिलालाई अश्लील कार्य गर्न बाध्य बनाएकोले भागेर असार २० गते नेपाल फर्केको पीडितहरूले बताएका छन् ।