दुधौली नगरपालिका–४ हटियाकी ३० वर्षीया आशा सदालाई ३२ वर्षीय पति रितु सदाले पाकिरहेको माछाको तरकारीको झोलमा अनुहार डुबाएर घाइते बनाएको पीडित पक्षको आरोप छ ।
पीडित महिलालाई कात्तिक १६ गते दिउँसो खाना पकाउँदै छिमेकीहरूसँग गफ गरिरहेकी सदालाई रितुले तरकारीमा मुख डुबाइदिएपछि घरमै थुनेर फरार भएका छन् ।
उनको उपचार सिन्धुली अस्पतालमा भइरहेकोे छ । कात्तिक १६ गते नै घटना घटे पनि उनलाई कात्तिक १७ गते मात्र छिमेकीको सहयोगमा सिन्धुली अस्पतालमा ल्याइएको हो ।
उपचारका लागि आर्थिक अभाव भएका कारण स्थानीयले केही रकम सङ्कलन गरी उपचारका लागि सिन्धुली ल्याएका हुन् । उनको साथमा आशाकी आमा मङ्गली सदा र दिदी गिता सदा उपचारका लागि आएका छन् ।
घाइते आशाको अनुहार ढडेको छ । तातो तरकारीको झोलमा डुबाइएकी आशाको स्वास्थ्य अवस्था गम्भीर रहेको उपचारमा संलग्न डाक्टरले बताएका छन् ।
मनोसामाजिक परामर्शकर्ता सर्मिला राउतले घटना थाहा पाएपछि उद्धार गरेको बताइन् । आशा कात्तिक १७ गते बिहान राउतलाई भेट्न गएपछि मात्र घटना बारेमा थाहा पाएको राउतले बताइन् ।
उनका अनुसार डकाहा स्वास्थ्य चौकीमा उपचार हुन नसकेपछि स्थानीयसँग पैसा उठाएर अस्पताल ल्याइएको हो । उनका जुम्ल्याहा एक वर्षका छोरा र अन्य दुई जना छोराछोरी गरी चार जना सन्तान छन् ।
पीडितको उपचार सिन्धुली अस्पतालमा नहुने भएपछि अस्पतालले काठमाडौँ रिफर गरेको छ । उनलाई ओसिएमसी सिन्धुलीको सहयोगमा टिचिङ अस्पताल लाने तयारी भएको सिन्धुली अस्पतालले जनाएको छ ।
टिचिङ अस्पतालमा निःशुल्क उपचारको लागि पहल भएको सिन्धुली अस्पताल विकास समितिका अध्यक्ष प्रल्हादकुमार पोखरेलले बताए । बिरामीका आफन्तलाई खान बस्न र उपचार खर्च निःशुल्क गरिएको पोखरेलले जानकारी दिए ।
आरोपित रितु सदालाई गिरफ्तार गर्न प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी लोकदर्शन थापाले बताए ।
उनका अनुसार जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा पीडितका आफन्तले कात्तिक १७ गते लिखित उजुरी दिएका छन् ।