INSEC Online

📅 २०८३ जेष्ठ २१

नागरिक तथा राजनीतिक अधिकारको रक्षा गर्दै व्यवहारिक प्रयोग गरौँः मन्त्री चुमान

गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमानले नेपालको संविधानले नागरिक तथा राजनीतिक अधिकारलाई भरपुर सम्बोधन गरेकाले यसको व्यवहारिक प्रयोगको आवश्यकतामा जोड दिएका छन् ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेशद्वारा साउन ३ गते पोखरामा आयोजित ‘नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी प्रदेशस्तरीय सम्वाद कार्यक्रम’मा बोल्दै मन्त्री चुमानले अहिले अधिकारको कुरा गर्ने भन्दा पनि हालसम्म प्राप्त गरेका अधिकारको रक्षा गर्दै व्यबहारिक प्रयोगमा लैजानुपर्ने धारणा राखे ।

‘प्राप्त अधिकारको रक्षा, सदुपयोग गर्दै विकासको बाटोमा अगाडि बढ्ने आजको आवश्यकता हो ।’–उनले भने । कानुन निर्माणका क्रममा अनेकौँ क्षेत्रबाट हस्तक्षेप हुने गरेको मन्त्री चुमानको भनाई थियो ।

गण्डकी प्रदेश सभा विधायन समितिका सभापति मोहनप्रसाद रेग्मीले मानव अधिकारका विषयमा कुरा गर्दा नागरिकको हैसियतमा आफ्नो दायित्व पूरा गर्न कत्तिको जिम्मेवार छौँ भन्ने विषयमा सचेत बन्नुपर्ने धारणा राखे ।

रेग्मीले राजनीतिकर्मीले भाषणमा मात्रै मानव अधिकारलाई सीमित नराखी व्यवहारिक रूपमा पनि कार्यान्वयनमा लाग्नुपर्ने बताए ।

प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाले नेपालले अन्तर्राष्ट्रिय सन्धि सम्झौताको पक्ष राष्ट्र भएपछि त्यसलाई कार्यन्वयनका लागि व्यवहारतः काम गर्दै आएको बताए ।

मौलिक हकको व्यवहारिक कार्यान्वयनका लागि सरकार सचेत बन्नुपर्ने प्रमुख जिल्ला अधिकारी बुढाको भनाई थियो ।

‘नागरिकलाई समान अधिकार प्राप्त भएतापनि त्यसको पहुँचका विषयमा सोच्नुपर्ने बेला आएको छ ।’–उनले भने–‘स्थानीय तहलाई दिइएको अधिकार अनुसारको कार्यन्वय क्षमता छ वा छैन हेरेर सङ्घ र प्रदेश सरकारले सहयोग गर्नुपर्दछ ।’

राष्ट्रिय मानव अधिकार आयोग, गण्डकी प्रदेश कार्यालयका निर्देशक दिपकजङ्गध्वज कार्कीले मानव अधिकारको विश्वव्यापी मान्यतालाई व्यवहारिक रूपमा कार्यान्वयनका लागी सबैको पहल आवश्यक रहेको धारणा राखे ।

जिल्ला प्रहरी कार्यालय, कास्कीका एसपी दानबहादुर कार्कीले प्रहरी कार्यालयका संरचनाहरू नागरिक अधिकारका हिसाबमा सवल नभएको बताए ।

‘हिरासतमा महिला र पुरूष छुट्टाछुट्टै राख्नुपर्ने व्यवस्था छ । तर, पुराना मात्रै होइन नयाँ संरचनाले पनि त्यसलाई व्यवस्थित गराउन सकेको छैन ।’–एसपी कार्कीले भने ।

उनले गिरफ्तार गरिएका व्यक्तिका अधिकारका विषयमा कुरा गर्दा पीडित पक्षका न्यायका बारेमा समेत सचेत बन्नुपर्ने बताए ।

‘मानव अधिकारको विश्वव्यापी सम्झौता र सन्धिका बारेमा सचेत हुनैपर्दछ तर विश्वको परिवेश र नेपालको व्यवहारिक पक्ष फरक छ यसबारे पनि सोच्नुपर्दछ ।’–कार्कीले भने ।

उच्च अदालत बार एशोसिएशनका अध्यक्ष रोहितराज बास्तोलाले संवैधानिक रूपमा प्राप्त नागरिक तथा राजनीतिक अधिकारलाई स्थापित गर्नका लागि सबैको भूमिका महत्वपूर्ण हुने धारणा राखे ।

गैरसरकारी संस्था महासङ्घ गण्डकी प्रदेश अध्यक्ष विना सिलवालले नागरिक तथा राजनीतिक अधिकारलाई स्थापित गराउनका लागि विद्यालय तहमा नै यसलाई पढाइनुपर्ने भनाइ राखिन् ।

इन्सेक केन्द्रीय कार्यालयका श्रीराम बजगाईले मानव अधिकार हरेक नागरिकका लागि आवश्यक रहेको र यसका मुल्य तथा मान्यतालाई स्थापित गर्नका लागि इन्सेकले छलफल गर्दै आइरहेको बताए ।

इन्सेक केन्द्रीय कार्यालयकी सम्झा श्रेष्ठले अन्तर्राष्ट्रिय र राष्ट्रिय व्यवस्थामा नागरिक तथा राजनीतिक अधिकारका बारेमा जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताइन् ।

इन्सेक गण्डकी प्रदेश कार्यालयका संयोजक शिव खकुरेलले इन्सेकले नागरिक तथा राजनीतिक अधिकार भित्र रहेर गर्दै आइरहेको कामका बारेमा जानकारी गराएका थिए ।

कार्यक्रममा सहभागीहरूले नागरिक तथा राजनीतिक अधिकारको उपभोगको अवस्थाका बारेमा सामूहिक छलफल गर्दै आ–आफ्ना सुझाव राखेका थिए ।

सोही क्रममा शान्तिका लागि नागरिक समाजको सन्जालका अध्यक्ष विष्णु बरालले सरकारले कानुनको कडा रूपमा कार्यान्वयन गर्न सके मात्रै परिर्वतन सम्भव हुने बताए ।

Photo20190719Kaski01 Photo20190719Kaski02 Photo20190719Kaski03 Photo20190719Kaski04 Photo20190719Kaski05 Photo20190719Kaski06 Photo20190719Kaski07

अन्य

भिडियो