१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा शम्भुनाथ नपा-७ का ३१ वर्षीय दर्शन मण्डलविरूद्धको बलात्कार मुद्दा जिल्ला अदालतले असार ३१ गते मुलतबीमा राख्ने फैसला गरेको छ ।
न्यायाधीश जवाहरप्रसाद सिंहको इजलासले उक्त मुद्दा मुलतबीमा राख्ने फैसला गरेको अदालतले जनाएको छ ।
बलात्कारको आरोपमा इलाका प्रहरी कार्यालय कल्याणपुरले आरोपितविरूद्ध ०७५ पुस २६ गते उजुरी दर्ता गरेपनि आरोपित फेला नपरेपछि अदालतले ०७५ माघ ४ गते आरोपितविरूद्ध वारेण्टसहितको म्यादी पुर्जी जारी गरेको थियो ।
पीडित बालिकालाई आरोपितले ०७५ साउन ५ गतेदेखि पटक-पटक बलात्कार गरेको भन्दै अभिभावकलाई पीडित बालिकालाई ०७५ पुस १६ गते बताएपछि उनका अभिभावकले चिकित्सक कहाँ चेकजाँच गराएका थिए ।
बाख्रा चराउन जाने गरेकी बालिकालाई ललाइफकाई आरोपितले पटक-पटक बलात्कार गरेको भन्दै पीडितका बुबाले इलाका प्रहरी कार्यालय कल्याणपुरमा पुस २६ गते उजुरी दिएका थिए । इलाका प्रहरी कार्यालय कल्याणपुरले सोही दिन उजुरी दर्ता गरेको थियो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा पुस २६ गते भएको थियो । आरोपित फेला नपरेपछि र हाजिर नभएपछि मुद्दा मुलतबीमा राखिएको अदालतले जनाएको छ ।