१४ वर्षीया बालिकालाई बलात्कार गर्न सहयोग गरेको आरोपमा प्रहरीले ३५ वर्षीया काकीलाई असार २४ गते गिरफ्तार गरेको छ ।
तिलाठी कोइलाडी गाउँपालिका-७ वभनगामा कट्टीस्थित लक्ष्मीबल्लभ नरसिङ्ग माविमा सर्वत भन्दै झुक्याएर स्प्राइटमा मदिरा मिसाएर वाइन खुवाई बलात्कारको वातावरण बनाइदिएको आरोपमा उनलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी भावेश रिमालले बताए ।
विद्यालय प्राङ्गणमा निर्माण भइरहेको नयाँ भवनमा मजदुरी गर्ने बालिकालाई पारिश्रमिक दिने बहानामा असार १९ गते अबेर रातिसम्म प्रतिक्षा गर्न लगाई नास्ता पानी खान जोर जबरजस्ती गरी झुक्याएर नशालु पदार्थ सेवन गराइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
सर्वत भन्दै झुक्याएर स्प्राइटमा मदिरा मिसाएर वाइन खुवाएपछि नशामा लठि्ठएकी बालिकामाथि विद्यालयका कार्यालय सहायक ४० वर्षीय शिवशङ्कर मण्डल र भवन निर्माणको रेखदेख गर्ने नाम, ठेगाना थाहा नभएका अन्दाजी ३५/४० वर्षीय मुन्सीले बलात्कार गरेको पीडितले बताइन् ।
असार १९ गते दिउँसै ढलानको काम सकिएपछि पारिश्रमिक माग्दा ठेकेदार चेक साट्न गएको छ भनी आरोपितहरूको कोठामा बस्न लगाई माछा र स्प्राइट खान दिएको पीडितले बताइन् ।
स्प्राइटमा वाइन मिसाएर नशामा लठ्याई बलात्कार गरेको कुरा असार २० गते छोरी होशमा आएपछि बताएको पीडितकी आमाले बताइन् ।
पीडितकी आमाले दिएको उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालयले काकीलाई गिरफ्तार गरी असार २४ गते उजुरी दर्ता गरेको छ ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा असार २३ गते भएको छ ।