गोरखापत्र दैनिकका ओखलढुङ्गा समाचारदाता मनोजबहादुर भट्टराईलाई ठगी मुद्दामा फरार रहेका एक निजी कम्पनीका सञ्चालक सुवास कार्कीले असार २१ गते मार्ने धम्की दिएका छन् ।
सिड्स ब्याङ्क नामक बिउजिन कम्पनीका सञ्चालक चम्पादेवी गाउँपालिका–६ का सुवास कार्कीले आफूविरूद्ध समाचार लेखेको भन्दै फेसबुकमार्फत पत्रकार भट्टराईलाई मार्ने धम्की दिएका हुन् ।
कार्की ठगी मुद्दामा तीन महिनायता प्रहरीको फरार सूचीमा छन् । उनीविरूद्ध पक्राउ पुर्जी जारी गरेर खोजी भइरहे पनि प्रहरीले गिरफ्तार भने गरेको छैन ।
कार्कीले दैनिक अनलाइनमार्फत नेता, सांसद र प्रहरीसँग सम्बन्ध रहेको भन्दै किसान र समाचार लेख्ने पत्रकारलाई धम्की दिँदै आएको आरोप पीडित पत्रकार भट्टराईले बताए ।
‘फेसबुक र मेसेञ्जरमार्फत लगातार धम्याएका थिए असार २१ गते मार्ने धम्की दिए ।’–भट्टराईले भने । उनले गोरखापत्र दैनिक र थाहा सञ्चार अनलाइनमा फरार अभियुक्त प्रहरीले नसमातेको विषयमा समाचार लेखेका थिए । उनी नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा ओखलढुङ्गाका सदस्य समेत हुन् ।
कृषकलाई विउ मल उपलब्ध गराउने र उनीहरूका उत्पादन बजारीकरण गर्ने भन्दै कार्कीले सिड्स ब्याङ्क नामक कम्पनी खोलेर किसानसँग रकम लिएपछि भागेका थिए ।
आफूहरूलाई ठगी गरेको आरोपमा किसानहरूले प्रहरीलाई उजुरी हालेपछि विभिन्न सञ्चार माध्ययममा आएका समाचारको आधारमा कार्कीले गोरखापत्र दैनिकका पत्रकार मनोज भट्टराई धम्क्याएका हुन् ।
भट्टराईले आफू र आफ्नो परिवारलाई सिध्याउने धम्की दिएको बताए । यसबारे प्रहरीले भने चासो नदिएको उनको भनाइ छ ।
पत्रकार धम्याएको विषयमा पत्रकार महासङ्घ, ओखलढुङ्गा शाखाले पत्रकारको पेशागत सुरक्षा शुनिश्चित गर्न सरकारसँग माग गरेको छ ।
जिल्ला शाखाले विज्ञप्ति जारी गर्दै फरार अभियुक्तबाटै धम्की आउनु र प्रहरी मौन रहनु रहस्यमय भन्दै दोषीमाथि कडा कारवाही गर्न माग गरेको छ ।
फरार अभियुक्त कार्कीका विषयमा जिल्ला प्रहरी कार्यालयका प्रमुख पुष्पराज मल्लले ठगीमा मुद्दा चलेकाले जहाँ गए पनि फरक नपर्ने भन्दै एक दिन प्रहरीले समात्ने बताए ।