दश वर्षे द्वन्द्वमा हजारौँ बालबालिकाहरूलाई डर, धम्कि, त्रास र प्रलोभन देखाएर जबरजस्ती बन्दुक बोकाएर पछि अयोग्यको बिल्ला भिराएर अपमानित गरेको आरोपसहित माओवादीका बहिर्गमित लडाकूहरू आन्दोलित भएका छन् ।
बहिर्गमित लडाकूले कात्तिक २२ गते एकीकृत नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालयमा धर्ना दिनुका साथै पार्टी कार्यालयमा तालाबन्दीसमेत गरेका छन् ।
सरकारले तत्कालीन समयमा ‘अयोग्य’ भनेर आफूहरूलाई अपमानित गरेकोले न्याय नपाएसम्म शान्तिपूर्ण आन्दोलन गर्ने बहिर्गमित जनमुक्ति सेना नेपालका अध्यक्ष लेनिन् विष्टले बताए ।
‘आफ्नो जीवनको महत्वपूर्ण समयलाई युद्ध मैदानमा बिताउन बाध्य पारिएका पूर्व बाल सैनिकहरूलाई तत्कालीन विद्रोही पक्ष माओवादी तथा सरकारबीच सम्पन्न विस्तृत शान्ति सम्झौत पछि ४ हजारको सङ्ख्यामा रहेका पूर्व बाल सैनिकहरूलाई ‘अयोग्य लडाकू’ को बिल्ला भिराएर अपमानित गरियो ।’-धर्ना गर्नुपूर्व जारी विज्ञप्तिमा भनिएको छ ।
संयुक्त राष्ट्रसङ्घीय मिसन अनमिनको रोहबरमा ०६६ साल माघ महिनामा ४ हजार ९ जनालाई अयोग्य घोषणा गरेको दिन देखि नै आन्दोलित हुँदै आएको विष्टले बताए ।
फोटो: विमलचन्द्र शर्मा
