INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले राजविराज नपा–१६ बोरियाका २५ वर्षीय सुशिलकुमार यादवलाई असार ८ गते गिरफ्तार गरेको छ ।

पीडित युवतीले असार ८ गते दिएको उजुरी दर्ता गरी आरोपितलाई गिरफ्तार गरिएको इलाका प्रहरी कार्यालय कञ्चनरुपले जनाएको छ ।

पीडितको स्वास्थ्य परीक्षण राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा असार ८ गते गरिएको इलाका प्रहरी कार्यालय कञ्चनरुपका डिएसपी मकेन्द्रकुमार मिश्राले जानकारी दिए । पीडित ६ महिनाकी गर्भवती रहेको अस्पतालले जनाएको छ ।

कञ्चनरुप नगरपालिका कार्यालयमा ब्याक होल्डर रोडरका चालकका रुपमा करार सेवामा कार्यरत रही कञ्चनरुप नपा–८ मा डेरा गरी बसेका आरोपितसँग प्रेम सम्बन्ध भई ०७५ भदौ १० गते हनुमाननगर कङ्कालिनी नपा–१ स्थित कङ्कालिनी मन्दिरमा विवाह गरेकी पत्नीले आफ्नी सौतेनी आमाको बहकाउमा परी झुठा उजुरी दिएको आरोपितले बताए ।

आरोपितका अनुसार दोस्रो विवाह गरेका उनकी जेठी पत्नी घरमा छिन् । पीडितकी सौतेनी आमाले जेठी पत्नीसँग सम्बन्ध विच्छेद गराएपछि पुनः आरोपित र पीडितको सम्बन्ध मिलाई दिने भनी झुक्याई पीडितबाट उजुरी दिन लगाएको उनले बताए ।

गत वैशाखमा काठमाडौँ किर्तिपुर गई सँगै बसेका उनीहरूलाई काठमाडौँमै बस्ने गरेका ससुराले घर गई मिलेर बस्नु भनी कञ्चनरुप पठाएपछि सँगै आउँदा प्रहरीले गिरफ्तार गरेको आरोपितले बताए ।

पीडितले भने जबरजस्ती भगाई बन्धक बनाई आरोपितले बलात्कार गरेको भन्दै इलाका प्रहरी कार्यालय कञ्चनरुपमा असार ८ गते उजुरी दिएकी छिन् ।

अन्य

भिडियो