INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१८ वर्षीया युवतीलाई बलात्कार गरी फरार भएको आरोपमा प्रहरीले लिखु गाउँपालिका–३ का वडा सदस्य ५६ वर्षीय विष्णु श्रेष्ठलाई वैशाख ३१ गते गिरफ्तार गरेको छ ।

पीडित युवतीलाई आरोपितले ०७५ चैत ७ गते बलात्कार गरेको आरोपमा उनीविरूद्ध चैत ९ गते जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गामा उजुरी दर्ता गरिएको थियो ।

श्रेष्ठ चैत ९ गतेबाटै आफूले प्रयोग गर्ने मोवाइलको स्वीच अफ गरी सम्पर्कविहीन भएका थिए । परिवारका सदस्यले उजुरीबारे प्रहरी कार्यालयमा छलफल गराउन ओखलढुङ्गा ल्याउँदै गर्दा बाटोबाटै उनलाई गिरफ्तार गरिएको प्रहरीले जनाएको छ ।

आरोपितका छोरा राजु श्रेष्ठले बाबुमाथि लागेको आरोप झुठो भएकाले मुद्दाका बारेमा छलफल गराउन जिल्ला प्रहरी कार्यालय लैजाँदा बाटोबाटै प्रहरीले नियन्त्रणमा लिएर गिरफ्तार गरेको हल्ला चलाएको आरोप लगाए ।

आरोप झुठो भएकाले सबैलाई राखेर छलफल गराउन प्रहरी कार्यालयमै लैजाँदै गर्दा आफ्नो काम देखाउन प्रहरीले नाटक गरेको उनको दावी छ ।

जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका इन्स्पेक्टर राजीव श्रेष्ठले भने परिवारको आरोप खण्डन गर्दै फरार रहेका श्रेष्ठलाई गिरफ्तार गरिएको जानकारी दिए ।

अन्य

भिडियो