INSEC Online

📅 २०८३ जेष्ठ २१

कारागारमा क्षमताभन्दा बढी कैदीबन्दीका कारण बिरामीको जोखिम बढ्दो

साँघुरो भवनमा क्षमताभन्दा दोब्बर बढी कैदीबन्दी हुँदा डिल्लीबजार कारागारमा समस्या भएको छ । कारागारमा धेरै कैदीबन्दीलाई एकै ठाउँमा राख्दा अधिकांश कैदीबन्दी बिरामी हुने गरेका छन् ।

३ सय जनाको क्षमता रहेको कारागारमा चैत २४ गते ६ सय ८ जना कैदीबन्दी राखिएको जसमध्ये कैदी ३ सय ५५ र थुनुवा २ सय ५३ गरी ५ सय ८६ जना स्वदेशी कैदीबन्दी तथा २२ जना विदेशी कैदीबन्दी रहेको कारागारका जेलर एवम् उपसचिव अरूण पोखरेलले बताए ।

चार रोपनी क्षेत्रफलमा निर्माण भएको कारागारका दुई ओटा भवनमा कैदीबन्दी लगायत कार्यालयका प्रहरी समेत राख्नुपर्ने बाध्यता र कारागार परिसर बाहिरको जग्गा हुलाक कार्यालयको रहेकोले थप भवन निर्माण गर्न नसकिने हुँदा कारागार साँघुरो भई समस्या भएको पोखरेलले बताए ।

कारागारका कैदीबन्दीहरूमा छाला, मधुमेह, जण्डिस, श्वासप्रश्वाससम्बन्धी रोग र हातगोडा पाक्ने, सुनिनेलगायतका समस्या हुने गरेकाले यस्ता कैदीबन्दीका लागि छुट्टै कोठाको अभाव हुँदा सँगै बस्न बाध्य अन्य कैदीबन्दीहरू पनि बिरामी पर्ने गरेको र यस्ता बिरामीहरुलाई काठमाडौँ वीर अस्पतालमा उपचार गराउने गरेको पोखरेलले बताए ।

अहिले पनि श्वासप्रश्वास, जण्डिस तथा हातगोडा पाक्ने समस्याबाट ग्रसित भएका सात जना बिरामी कैदिबन्दीहरूलाई वीर अस्पतारमा उपचार गराइरहेको उनले बताए ।

अन्य

भिडियो