पतिले कुटपिट तथा दुव्र्यवहार गरेको भन्दै नीलकण्ठ नगरपालिका–१२ की ३० वर्षीया सञ्जु ढकाल लम्सालले ३१ वर्षीय पति कृष्ण लम्सा विरूद्ध चैत २० गते जिल्ला अदालत धादिङमा घरेलु हिंसा सहित सम्बन्ध विच्छेद तथा माना चामलमा मुद्दा दर्ता गराएकी छन् ।
निजी विद्यालयका शिक्षक समेत रहेका पतिले रक्सी खाएर पटकपटक आफूलाई कुटपिट गर्ने, खाना लाउन नदिने र परपुरूषसँग लागेको आरोप लगाउने गरेकोले घरमा बस्नै नसक्ने अवस्था भएपछि पतिविरूद्ध जिल्ला अदालतमा मुद्दा दर्ता गराएको उनले इन्सेक जिल्ला प्रतिनिधिलाई बताइन् ।
सरकारी विद्यालयकी शिक्षिका रहेकी पत्नीलाई यसअघि पनि कुटपिट तथा दुर्व्यवहार गर्दै आएकोले गत माघ महिनामा जिल्ला प्रहरी कार्यालयमा उजुरी गरेको र उक्त उजुरी पछि प्रहरीले दुवैबिच मिलापत्र गराएर पठाए पनि पुनः उस्तै हिंसाजन्य व्यवहार गर्दै आफूलाई घर निकाला गरेकाले हाल माइतिघरमा बस्दै आएको उनले बताइन् ।