जिल्ला समन्वय समितिद्वारा घोराही उपमनपा– १५ को कार्यालयमा चैत २० गते तालाबन्दी गरेपछि सेवाग्राही मर्कामा परेका छन् ।
वडाध्यक्षको कार्यकक्षमा जिससले कुनै जानकारीबिना नै ताला लगाएपछि योजना फरफारक गर्ने फाइल, वडाको बैठक पुस्तिकालगायत महत्वपूर्ण कागजात र सेवाग्राहीका योजनाका फाइल समेत तालाबन्दीमा परेको वडाअध्यक्ष रमेशकुमार पाण्डेले बताए ।
कार्यकक्षको ढोकामै बसेर चैत २१ गते पत्रकार सम्मेलन गरी अध्यक्ष पाण्डेले ताला खोलीदिन आग्रह गरेका छन् ।
दुई दिनसम्म ताला नखुलेको भन्दै नागरिकका काममा सहजताका लागि पहल गरिदिन आग्रह गरे । सिफारिसका काम भने कार्यकक्षको बाहिर बसेर सेवा दिइरहेका छन् ।
समन्वय समितिअन्तर्गत सुरक्षित वैदेशिक रोजगार परियोजनाको कार्यालय रहेको उक्त दुई कोठे भवनमा गत फागुनदेखि वडाध्यक्षको कार्यकक्ष तथा बैठक कक्ष बनाइएको थियो ।
जिल्ला समन्वय समितिले जानकारीबिना कार्यालय सारेको र भवन खाली गर्न पटकपटक अनुरोध गर्दा पनि नमानेपछि तालाबन्दी गरिएको समन्वय प्रमुख जितेन्द्रमान नेपालीले बताए ।
वडाध्यक्ष पाण्डेले वडाको आफ्नै भवन नभएको र घोराही नगर विकास समितिको कार्यालयसँग दुईओटा कोठा मागेर कार्यालय सञ्चालन गरिएको त्यसमा दैनिक कामकाज गर्न समस्या भएपछि घोराही उपमहानगर र समन्वय अधिकारीबीचको सहमतिमा आफनो कार्यकक्ष समन्वय समितिको भवनमा सारेको बताए ।