INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कृत बालिका आमा बनिन्, न्याय नपाएको भन्दै पीडित परिवार चिन्तित

सप्तरीकी १४ वर्षीया बलात्कृत बालिकाले चैत १९ गते छोरीलाई जन्म दिएकी छिन् । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा उनले दिउँसो ४:१० मा छोरीलाई जन्म दिएको अस्पतालले जनाएको छ ।

अस्पताल नर्सिङ निरीक्षक कृष्णा यादवले छोरी र जन्म दिने १४ वर्षीया आमाको अवस्था हाल सामान्य रहेको बताइन् ।

हनुमाननगर कंकालिनी नपा–४ स्थित ठुली आमाको घरमा बसेका बेला सोही गाउँमा भोजको निम्तो मान्न पुगेका छिन्नमस्ता गाउँपालिका–६ कुपहीका २१ वर्षीय प्रदिपकुमार मण्डलले ललाइफकाई बलात्कार गरेको बालिकाको भनाई छ ।

आरोपितले पछिल्लो पटक माघ १० गते बलात्कार गरेको थाहा पाई पीडितलाई सोधपुछ गर्दा र स्वास्थ्य परीक्षण गराउँदा पीडित गर्भवती रहेको थाहा पाएकी पीडितकी आमाले फागुन १० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् ।

जिल्ला प्रहरी कार्यालयले फागुन २७ गते जबरजस्ती करणीको उजुरी दर्ता गरी सोही दिन पीडितको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा स्वास्थ्य परीक्षण गराएको थियो ।

भारतको चण्डिगढमा अध्ययनरत आरोपित हालसम्म गिरफ्तार भएका छैनन् । आरोपित गिरफ्तार नपरेको मुद्दा एक वर्षभित्र अदालतमा बुझाउनु पर्ने प्रावधान अनुरुप आरोपित गिरफ्तार नपरे एक वर्ष नजिकिएपछि मात्र मुद्दाको फाइल बुझाइने एसपी राजेन्द्र विष्टले बताए ।

त्यसपछि पनि अदालती प्रकृया बमोजिमको वारेण्टसहितको म्यादी पुर्जी जारी, म्याद थाम्ने, साक्षी प्रमाण बुझ्ने, बयान लिने, इजलास नभ्याउने, पेशी, तारेख लिएर स्थगित गर्न पाउने प्रतिवादीको अधिकारले मुद्दा फैसला हुन थप समय लाग्ने निश्चित छ ।

नियमित कानुनी प्रकृयाले हुने ढिलाइले न्याय पाउन लामो समय प्रतिक्षा गर्नु पर्ने चिन्तासँगै पीडितका अभिभावकलाई १४ वर्षकै उमेरमा आमा बनेकी बालिका र उनको छोरीको पालनपोषणको जिम्मेवारी समेत थपिएपछि चिन्ताले पिरोलिएका छन् ।

सानै उमेरमा आमा बन्दा दीर्घकालीन रुपमै धेरै खाले चुनौति एकसाथ आएकाले राज्यले यस्ता बालिकालाई समयमै राम्रो स्वास्थ सुविधा तथा उचित राहतको व्यवस्था गर्नुपर्ने अधिवक्ता मीना देवको भनाई छ ।

अन्य

भिडियो