सरकारले प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका दुई जना कार्यकर्तालाई सुनसरीबाट गिरफ्तार गरेको प्रहरीले जनाएको छ ।
सो पार्टीका कार्यकर्ता बताउने मोरङ ग्रामथान गाँउपालिका–४ स्थायी घर भएका ४१ वर्षीय सूर्य भनिने रमेश खड्कालाई चैत १२ गते इटहरी उपमहानगरपालिका–४ बाट गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी ज्ञानेन्द्र फुयाँलले बताए ।
त्यसैगरी इटहरी उपमहानगरपालिका–४ बाट हिँडिरहेको अवस्थामा दुहवी नगरपालिका–६ का ४२ वर्षीय चन्दन पौदारलाई सो पार्टीमा आवद्ध भएको आरोपमा चैत १० गते गिरफ्तार गरेको डिएसपी फुयाँलले बताएका छन् ।
गिरफ्तारीमा परेकाद्वय विरूद्घ जिल्ला अदालत सुुनसरीमा सङ्गठित अपराध अन्तर्गत मुद्दा चलाइने तयारी गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको इन्सेक सुनसरी जिल्ला प्रतिनिधि जयकृष्ण यादवले जानकारी गराएका छन् ।
त्यसैगरी नेत्रविक्रम चन्द विप्लव नेतृत्वको अखिल नेपाल शिक्षक सङ्गठन रुपन्देहीका अध्यक्ष ४० वर्षीय रामजी आचार्यलाई प्रहरीले कञ्चन नगरपालिका हरैयास्थित घरबाट चैत १३ गते गिरफ्तार गरेको इन्सेक रुपन्देही जिल्ला प्रतिनिधि रिमा विसीले जनाएकी छन् ।
शिक्षक आचार्य रुपन्देहीको सुर्यपूरा माविका सहायक प्राध्यानाध्यापक तथा हरैया बहुमुखी क्याम्पसका प्राध्यापक समेत हुन् ।
अखिल नेपाल शिक्षक सङ्गठनका केन्द्रिय अध्यक्ष घनश्याम पाठकले एसइइ परीक्षाको अनुगमन गरेर घरमै आराम गरेर बसेको अवस्थामा प्रहरीले एसइइ परीक्षाका सहायक केन्द्राध्यक्षसमेत रहेका आचार्यलाई गिरफ्तार गरेको बताए ।
पाठकले नेपाल सरकारको श्रम मन्त्रालयमा ४३९ दर्ता नं भएको आधिकारिक सङ्गठनको अध्यक्षलाई विभिन्न बनावटी आरोप लगाएर परीक्षाको समयमा धरपकड गर्नु दुखद् रहेको भन्दै बिना शर्त रिहाइका लागि पहल गरिदिन आग्रह गरे ।
घटनाका विषयमा जिल्ला प्रहरी कार्यालयका एसपी हृदय थापाले आरोपित आचार्य प्रादेशिक जनसरकार लुम्बिनीको व्यूरो सदस्य भएको र उनको घरबाट सदस्यतासम्बन्धी रसिदहरू बरामद गरेको बताए ।
त्यसैगरी नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका सात जना कार्यकर्तालाई विभन्न मितिमा चितवन प्रहरीले गिरफ्तार गरेको छ ।
अखिल क्रान्तिकारी यातायात व्यवसायी सङ्घ चितवनका अध्यक्ष ४२ वर्षीय मित्र केसी र चितवन १ नम्बरका इलाका इञ्चार्ज ६० वर्षीय जयबहादुर कुँवरलाई चैत ११ गते गिरफ्तार गरेको प्रहरीले जनाएको छ भने जिल्ला सदस्य ३५ वर्षीय वीरबहादुर तामाङलाई चैत ८ गते गिरफ्तार गरेको छ ।
फागुन २८ गते राति भरतपुर महानगरपालिका–५ को कार्यालय भवनमा बम विष्फोट घटनामा संलग्न रहेको आरोपमा जिल्ला जनसरकार प्रमुख राप्ती नगरपालिका–४ का ३३ वर्षीय गुणराज श्रेष्ठ, सचिवालयका सदस्य भरतपुर महानगरपालिका–२३ का ४० वर्षीय राजकुमार तिमिल्सिना र क्रान्तिकारी विद्यार्थी सङ्गठन वीरेन्द्र बहुमुखी क्याम्पसका अध्यक्ष माडी नगरपालिका–७ का २४ वर्षीय विक्रम न्यौपानेलाई फागुन २९ गते प्रहरीले गिरफ्तार गरेको थियो ।
गिरफ्तार भएका ६ जनालाई सङ्गठित अपराध अन्तर्गत मुद्दा चलाइएको जिल्ला प्रहरी कार्यालयका डिएसपी दुर्गाराज रेग्मीले बताए ।
चैत १३ गते बिहान गिरफ्तारीमा परेका व्यक्तिको विषयमा अनुसन्धान भइरहेकाले नाम सार्वजनिक गर्न नसकीने चितवन प्रहरीले जनाएको समाचार इन्सेक चितवन जिल्ला प्रतिनिधि दीपेन्द्र अधिकारीले पठाएका छन् ।
त्यसैगरी मकवानपुर प्रहरीले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपामा आबद्ध भएको आशङ्कामा हेटौँडाबाट दुई जनालाई गिरफ्तार गरेको छ ।
प्रहरीले चैत १२ गते बेलुका हेटौँडा उपमहानगरपालिका–९ पशुपतिनगर र वडा नम्बर ११ थानाभर्याङ्ग बाट एक÷एक जनालाई गिरफ्तार गरेको हो ।
गिरफ्तार पर्नेमा सो पार्टीको युवा सङ्गठनका हेटौँडा नगर इञ्चार्ज विराम प्रजा र कार्यकर्ता राजकुमार कुँवर रहेको जिल्ला प्रहरी कार्यालयका एसपी मुकेशकुमार सिंहले बताएको समाचार इन्सेक मकवानपुर जिल्ला प्रतिनिधि पुष्पराज अधिकारीले पठाएका छन् ।
त्यसैगरी नेपाल कम्युनिष्ट पार्टीमा आवद्ध भई शान्ति सुरक्षामा खलल पुर्याएको आरोपमा चैत १२ गते फाल्गुनन्द गाउँपालिका–५ का २६ वर्षीय भूपेन्द्र चेम्जोङलाई प्रहरीले गिरफ्तार गरेको इन्सेक पाँचथर जिल्ला प्रतिनिधि मङ्गल बेघाले जनाएका छन् ।
विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई प्रतिबन्ध लगाउने नेपाल सरकारको निर्देशन अनुसार आरोपितलाई घरैबाट गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर अनिल पौडेलले बताए । आरोपित सो पार्टीको जिल्ला सदस्य भएको समेत बताइएको छ ।
जिल्लामा हिंसात्मक गतिविधि नभए पनि स्थानीय तहहरुमा सो पार्टीका कार्यकर्ताहरुले चन्दा माग्ने गरेको सूचनाका आधारमा उनीहरूलाई निगरानीमा राखिएको प्रहरीले जनाएको छ ।
त्यसैगरी विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका दुई जना कार्यकर्तालाई प्रहरीले देवचुली नपा–२ बाट चैत १४ गते गिरफ्तार गरेको इन्सेक जिल्ला प्रतिनिधि तिर्थराज डुम्रेले जनाएका छन् ।
प्रहरीले नवलपरासी पुर्वका जिल्ला जनपरिषद् उपप्रमुख ३४ वर्षीय दीपककुमार घर्ती सोमै (सम्राट) लाई देवचुली–२ स्थित उनकै निवास र जिल्ला सदस्य ३२ वर्षीय पारस गौतम (विकास) लाई देवचुली–२, स्थित चौधरी उद्योग अगाडिबाट गिरफ्तार गरेको जनाएको छ ।
गिरफ्तार गरिएका सोमै र गौतमलाई हिरासतमा राखी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का डिएसपी अर्जुन रानाभाटले जानकारी दिए ।