INSEC Online

📅 २०८३ जेष्ठ २२

इन्सेकको पहलमा गठन भएको युवा समूहद्वारा शैक्षिक सामग्री वितरण

इन्सेकको पहलमा गठन भएको बेद युवा समूह बगनासकाली–८ बराङ्दीले होली पर्वको अवसरमा चैत ६ गते तीन जना विपन्न परिवारका जेहेन्दार विद्यार्थीलाई झोला तथा शैक्षिक सामग्री प्रदान गरेको छ ।

सोही अवसरमा युवा समूहको आयोजनामा बगनासकाली ७ र ८ को सङ्गमस्थल देउरालीमा फागु संस्कृति संरक्षण कार्यक्रम, चेतनामुलक सडक नाटक प्रदर्शन, स्लो बाइक रेस तथा अन्य रचनात्मक क्रियाकलापहरू समेत सम्पन्न भएका छन् ।

युवा समूहले खानीगाउँ माविमा कक्षा ५ मा अध्यक्ष सरिता बिक, बेद माविमा कक्षा ११ मा अध्ययनरत सपना घिमिरे र कालिका आधारभुत विद्यालयमा कक्षा ६ मा अध्ययनरत सञ्जिव परियारलाई झोला, कापी तथा अन्य शैक्षिक सामग्री उपलब्ध गराइएको समूहका अध्यक्ष बरुण बस्यालले बताए ।

पढ्न लेख्न चाहाने तर किताव कापी समेत किन्न घरको आर्थिक अवस्था नभएका विद्यार्थीहरूलाई विद्यालयको सिफारिसमा शैक्षिक सामग्री उपलब्ध गराइएको अध्यक्ष बस्यालले बताए ।

कार्यक्रममा लोप हुने अवस्थामा रहेको फागु गीत तथा नाच संस्कृति, धर्म संस्कृति तथा संरक्षण सम्वर्धन समिति बराङदीको समूहले प्रस्तुत गरेका थिए ।

त्यस्तै युवा समूहका सदस्यहरूले विदेशमा जानु हुँदैन, सीप र क्षमता भए गाउँमै पनि नमूना काम गरेर देखाउन सकिन्छ भन्ने सन्देश सहितको सडक नाटक प्रस्तुत गरेका थिए ।

युवा समूहले अघिल्लो वर्षदेखि होली पूर्णिमाको अवसरमा यसप्रकारको कार्यक्रम गर्दै आएको छ । समुदायमा लोप हुने अवस्थामा रहेको कला संस्कृति संरक्षण र सम्वर्धनका लागि यसप्रकारको कार्यक्रम आयोजना गरिएको समूहका सचिव जीवन न्यौपानेले बताए ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल कम्युनिष्ट पार्टी बगनासकाली अध्यक्ष हरिप्रसाद पाठकले युवा समूहको उक्त प्रयासको सराहना गरे ।

इन्सेकको इएलपी कार्यक्रम अन्र्तगत बेद माध्यमिक विद्यालयमा कक्षा ११ र १२ मा अध्ययनरत युवाहरूको समूह बेद युवा समूहले सामुदायिक स्तरमा रचनात्मक क्रियाकलाप सञ्चालन गर्दै आएको छ ।

यो समूहले यसअघि सामूहिक अदुवा खेती, सडक नाटक, सांस्कृतिक कार्यक्रम लगायतका रचनात्मक कार्यक्रमहरू विद्यालय र समुदाय स्तरमा सञ्चालन गर्दै आएको छ ।

अन्य

भिडियो