INSEC Online

📅 २०८३ असार १०

बालबालिकाको अधिकारको संरक्षण गर्नु राज्यको मुख्य जिम्मेवारी: मण्डल

“बालबालिकाको सहभागिता सुनिश्चित गरौ, बालमैत्री समाज निर्माण गरौ” भन्ने मूल नाराका साथ जिल्ला समन्वय समिति धनुषा, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), सवल नेपाल, लाइफ नेपाल, जवास, आसमान नेपाल, सि एफ डब्लु ए तथा दलित महिला संघ धनुषाको संयुक्त आयोजनामा ०८३ असार ८ गते जनकपुरमा कार्यक्रम सम्पन्न भयो।

शिक्षाको अधिकार विषयक प्रदेश स्तरीय अन्तरक्रिया तथा जिल्ला बालभेला कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख राजनन्दन मण्डलले बालबालिकाको संरक्षण गर्नु राज्यको मुख्य जिम्मेवारी रहेको बताउनु भयो । राज्यले एक सच्चा संरक्षकको भुमिका निर्वाह गर्दा यससँगै अभिभावक तथा समाजले समेत आफ्नो दायित्वबोध गर्नुपर्नेमा जोड दिनुभयो ।

उपप्रमुख संगिता ठाकुरले बालबालिका भोलिका असल नागरिक हुने तयारीमा रहेको कारण उनीहरुको पालनपोषण उचित व्यवस्थापनका साथ हुन सकेको खण्डमा राष्ट्रको विकासमा सहयोगी हुन सक्ने बताउनु भयो ।

त्यस्तै राष्ट्रिय मानव अधिकार आयोग मधेस प्रदेश कार्यालयका मानव अधिकार अधिकृत राज अभिषेक रंजनले नेपालको संविधानले पनि बालबालिकाको हकलाई मौलिक हकको रुपमा सुरक्षित गरेको छ,  यसको पालना भए नभएको हेर्ने काम राष्ट्रिय मानव अधिकार आयोग र राष्ट्रिय बाल अधिकार परिषद् जस्ता निकायले गरिरहेको भन्दै नेपालमा बाल अधिकारको अवस्था कानुनी रूपमा निकै बलियो भए पनि व्यवहारमा अझै धेरै चुनौतीहरू रहेको बताउनु भयो ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)का मधेस प्रदेश संयोजक राजु पासवानले बालबालिकाको बाँच्न पाउने, संरक्षण, विकास र सहभागिताको अधिकार सुनिश्चित गर्न कानुन बनेका छन् तथापि गरिबी, अशिक्षा र चेतनाको कमीले गर्दा धेरै बालबालिका अझै पनि आधारभूत अधिकारबाट वञ्चित रहन बाध्यकारी अवस्था रहेको बताउनु भयो । नेपालमा पनि बालबालिका सम्बन्धी ऐन, २०७५ र अन्तर्राष्ट्रिय बाल अधिकारसम्बन्धी महासन्धि, १९८९ ले यी अधिकारहरूलाई सुनिश्चित गरेका भएतापनि ब्यवहारिक रुपमा यसको कार्यान्वय नदेखिएको भन्नुभयो ।

त्यस्तै दलित महिला संघ धनुषाका कार्यक्रम संयोजक सिजेन्द्र सदाले सम्मानपूर्वक बाँच्न पाउने अधिकार हरेक मानिसको हो तर  बालबालिकाहरु अरुप्रति आश्रित जिवन जीउने हुँदा उनीहरू साना र कमजोर तथा अपरिपक्व भएकोले विशेष हेरचाह चाहिने अवस्थामा यसैका लागि छुट्टै बाल अधिकार बनाइएको  भन्दै यो अधिकार सुनिश्चित गराउन हामी सबैको पहल र निगरानी रहन जरुरी रहेको बताउनु भयो ।

पत्रकार महासंघका केन्द्रीय सदस्य राजेश कर्णले मानवले गर्भदेखि. बालक रहुन्जेलसम्म बालअधिकार उपभोग गर्न पाउनुपर्छ भन्दै  त्यसैगरी बालबालिकाले राम्रो स्याहार, पोषणयुक्त आहार र सुरक्षित वातावरणमा बाँच्न पाउनुपर्छ भन्ने उहाँको भनाइ थियो ।

त्यसैगरी दलित पत्रकार संघ मधेस प्रदेशका अध्यक्ष कैलास दासले काम गर्न पाउने मानव अधिकार वयस्क मानिसलाई हुन्छ भने बाल श्रम रोक्ने अधिकार बालबालिकालाई रहन्छ भन्नुभयो । उहाँले बाल विवाह न्युनिकरण तथा विधालय व्यवस्थापन सुधारमा समेत बाल क्लवमा आवद्ध बालबालिकाको भूमिका महत्वपूर्ण रहेको भन्दै बाल सहभागीलाई सबै पक्षले प्राथमिकतामा राख्नुपर्ने बताउनु भयो ।

सवल नेपालका प्रदेश संयोजक नीर बहादुर आलेले शिक्षाको अधिकार अन्तर्गत आर्थिक वर्ष २०८३/२०८४ मा  मधेश प्रदेश नीति तथा योजनामा शिक्षा सम्बन्धी उल्लेख भएको कार्यक्रम लगाएत शिक्षा क्षेत्रको प्रमुख योजनाहरु, शिक्षा क्षेत्रमा प्रमुख उपलब्धि र चुनौती सम्बन्धी प्रस्तुति गर्नु भएको थियो । साथै बाल अधिकार महासन्धिको सिद्धान्त, बाल अधिकारका पक्ष, बाल सहभागिता कार्यविधि २०७८, बारे जानकारी गराउनु भयो । बाल क्लब सन्जाल  के हो ? यो गठन किन आवश्यक छ ? र गठन प्रक्रिया विषयमा समेत अभिमुखिकरण गर्नुभयो ।

त्यस्तै धनुषा जिल्लाका विभिन्न पालिकाबाट सहभागी भएका बालबालिकाले विद्यालयमा भवन, शौचालय तथा खानेपानीको उचित व्यवस्थापन नभएको भन्दै भवनहरु अपाङ्गमैत्री नरहेका र प्रयोगशालाहरु सञ्चालनमा नरहेको गुनासो गर्नुभयो ।

बालभेलाबाट २१ सदस्यीय जिल्ला बाल सञ्जाल गठन गरिएको छ । जसमा शिव कुमार सदा अध्यक्ष, आकाश पाठक उपाध्यक्ष, नन्दनी साह सचिव एवं लक्ष्मी कुमारी सहसचिव लगायतका सदस्यहरु रहेका छन् ।

सो अन्तरक्रिया तथा बालभेला कार्यक्रममा संघसंस्थाका प्रतिनिधि, विभिन्न विद्यालयका शिक्षक एवं विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

मधेस प्रदेश कार्यालय

अन्य

भिडियो