इन्सेक बागमती प्रदेश कार्यालयको आयोजना र नागार्जुन नगरपालिकाको सहकार्यमा नार्गाजुन नगरपालिका—१० मा “मानव अधिकार सम्बन्धी नेतृत्व विकास तालिम” ०८३ असार ३ गतेदेखि सुरु भएको छ ।
०८३ असार ५ गतेसम्म सञ्चालन हुने तालिमको उद्घाटन समारोहमा मानव अधिकार संरक्षणमा स्थानीय तहको भूमिका तथा मानव अधिकारमैत्री शासन व्यवस्थाका विषयमा छलफल गरिएको छ ।
कार्यक्रममा नागार्जुन नगरपालिकाका कार्यवाहक प्रमुख सुशीला अधिकारीले नगरपालिकाका नीति तथा कार्यक्रमलाई सकेसम्म मानव अधिकारमैत्री बनाउन इन्सेकको समन्वयको आवश्यकता औल्याउनु भयो । उहाँले नागार्जुन नगरपालिकामा गठित मानव अधिकार समुहसँगको सहकार्यमा इन्सेकले अभियान संचालन गर्नका लागि आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाउनु भयो ।

मानव अधिकारका सुचकहरुलाई पुरा गर्दै मानव अधिकार सुचकाङ्कमा नगरपालिकालाई अग्र स्थानमा राख्न तत्पर रहेको बताउँदै उहाँले इन्सेकले नेपालका सबै स्थानीय तहसँगको सहकार्यमा मानव अधिकार अभियानलाई अगाडी बढाउनुपर्ने बताउनु भयो ।
उहाँले नेपाली समाज अराजकता तर्फ अग्रसर रहेको देखिएकाले सर्वसाधारणमा मानव अधिकार सम्बन्धी सचेतना बढाउन दक्ष जनशक्ती आवश्यक पर्ने बताउनु भयो । मानव अधिकारमैत्री विकास, स्थानीय सरकारको उत्तरदायित्व तथा मानव अधिकारका अन्तर्राष्ट्रिय मान्यताहरूको कार्यान्वयनमा स्थानीय तहको भूमिकाका बारेमा उहाँले जोड दिनुभयो ।

इन्सेकका सूचना अधिकारी कृष्ण गौतमले मानव अधिकारको संरक्षण र सम्वर्धनका लागि इन्सेक निरन्तर रुपमा काम गर्दै आइरहेको बताउनु भयो । इन्सेकले द्वन्द्वको समयमा भएका मानव अधिकार उल्लङ्घन र ज्यादतिका घटनाहरुलाई अभिलेखित गर्दै जिम्मेवार पक्षलाई जवाफदेही बनाउन महत्वपूर्ण भूमिका खेल्नुका साथै न्याय र शान्ति स्थापना गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । इन्सेकले पीडितहरूलाई कानुनी सहायता, परामर्श र पुनःस्थापनाको काममा पनि सहयोग गरिरहेको, मानव अधिकारको संरक्षणमा जनचेतना फैलाउने कार्यलाई प्राथमिकता दिँदै आउनुका साथै सामाजिक सद्भाव, समानता र न्यायको प्रवर्द्धन गर्नमा इन्सेकको भूमिका अत्यन्तै प्रेरणादायिक रहेकोमा उहाँले जोड दिनु भयो ।
त्यसैगरी राष्ट्रिय मानव अधिकार आयोगका सहसचिव यज्ञ प्रसाद अधिकारीले स्थानीय सरकारले गरेका कार्यहरुलाई विश्वव्यापी आवधिक समीक्षाका क्रममा राज्यले तयार गर्ने प्रतिवेदनहरु समावेश गर्ने गरी जेनेभा सम्मेलनसम्म पुर्याउन सकिने बताउनु भयो ।
देशका ७ सय ५३ ओटै स्थानीय तहले मानव अधिकार सम्बन्धी राष्ट्रिय कार्ययोजनालाई कार्यान्वयन गर्न सकेमा मानव अधिकारको आन्तरिकिरण सम्भव हुने बताउनु भयो ।
त्यसैगरी नागार्जुन नगरपालिकाका—१० का वडाध्यक्षले मानव अधिकार प्रवर्धनका लागि स्थानीय सरकार इन्सेकसँग सहकार्य गर्न प्रतिबद्ध रहेको बताउनु भयो । उहाँले समुदायस्तरमा देखिएका मानव अधिकार उल्लंघन र ज्यादतीका समस्या पहिचान गरी समाधानका लागि स्थानीय तहका मेलमिलापकर्ताहरुले पहल गर्नुपर्ने आवश्यकता औँल्याउनु भयो ।
इन्सेक बागमती प्रदेश संयोजक शिव खकुरेलले इन्सेकले विगत तीन दशकदेखि नागरिक तथा राजनीतिक अधिकारसँगै आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारको क्षेत्रमा काम गर्दै आएको जानकारी दिदै देशभर मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाको अभिलेखीकरण, मानव अधिकार वर्षपुस्तक प्रकाशन, मानव अधिकार शिक्षा तथा पैरवीका कार्यक्रम सञ्चालन गर्दै आएको बताउनु भयो ।

उहाँले मानव अधिकार उल्लङ्घनका घटनाको अभिलेखीकरणले राज्यलाई जवाफदेही बनाउन सहयोग पुर्याएको उल्लेख गर्दै स्थानीय तहमा मानव अधिकार शिक्षा र सचेतना अभिवृद्धिको आवश्यकता रहेको बताउनु भयो ।
उक्त तालिममा नागार्जुन नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, न्यायिक समितिका सदस्य, सामाजिक अभियानता, विद्यार्थीहरु, विभिन्न समुह र समितिका पदाधिकारी र सदस्यहरुको सहभागिता रहेको थियो ।
तालिमको पहिलो दिनमा राष्ट्रिय मानव अधिकार आयोगका सह—सचिव यज्ञ प्रसाद अधिकारीले मानव अधिकारको अवधारणा, शिक्षाको अधिकार र स्थानीय सरकार विषयमा प्रस्तुतीकरण गर्नुभयो ।
त्यस्तै राष्ट्रिय महिला मानव अधिकार रक्षक संजालका महिला अधिकार, वर्तमान अवस्था र महिला अधिकार संरक्षणका लागि राज्यको दायित्व विषयमा, शक्ति समुहका निर्देशक चरीमाया तामाङले मानव वेचविखन, यसको अवस्था र रोकथामका लागि राज्यको दायित्व विषयमा र सिविन नेपालका माधव लोहनीले वाल अधिकार र अनलाइन दुर्व्यवहारका विषयमा सहजिकरण गर्नुभयो ।
तालिमले स्थानीय तहमा मानव अधिकारमैत्री नेतृत्व विकास, सुशासन प्रवर्धन तथा मानव अधिकार संरक्षणका लागि संस्थागत क्षमता अभिवृद्धिमा योगदान पुर्याउने अपेक्षा गरिएको छ ।

