INSEC Online

पुनर्स्थापनाको अभावमा मुक्त कमैयाहरु आधारभुत अधिकारबाट समेत वञ्चित

कैलारी गाउँपालिका–३ पुनर्सवास कम्पनी (टिसियन)को जग्गामा बसोबास गर्दै आइरहेका ओमनगर मुक्त कमैया शिविरका ७६ कमैया परिवारको २२ वर्ष बितिसक्दा समेत पुनर्स्थापना हुन सकेको छैन् । पुनर्स्थापनाको अभावमा मुक्त कमैयाहरु आधारभूत सेवाबाट समेत वञ्चित हुनुपरेको छ । सरकारले कमैया मुक्त घोषणा गरको झण्डै २२ वर्ष बितिसक्दा समेत मुक्तकमैयाहरु पुनर्स्थापनाको पर्खाइमा कष्टकर जिवन जीउन बाध्य छन् ।

मुक्त भएका कमैयाहरु व्यवस्थित पुनर्स्थापनाका लागि राज्यलाई दवाव दिन ०६१ सालमा कैलारी गाउँपालिका—३ पुनरवास कम्पनी (टिसियन)को १० बिघा ७ कठ्ठा १० धुर जग्गामा १ सय ५ मुक्त कमैया परिवारहरुले कब्जा गरेर बसेका थिए ।

भलमन्सा तथा मुक्त कमैया रामु कुमालका अनुसार बिभिन्न समस्या र अभावका कारण धेरैजसो मुक्त कमैयाहरुले कैलारी गाउँपालिकास्थित पुनरबास कम्पनीको जग्गा छोडेर अन्त्यै गए पनि बाँकी रहेका ७६ मुक्त कमैया परिवारहरु ०६१ सालदेखि विभिन्न समस्या र अभाव झेल्दै सोह्ी ठाउँमा मिलेर बस्दैआएका छन् ।

उहाँले भन्नुभयो— ‘लामो समयदेखि विभिन्न आन्दोलन, धर्ना, अन्तरक्रिया, छलफल र दबाबका कारणले जिल्ला भूमिसुधार कार्यालयले ०६६ सालमा पुनरबास कम्पनी (टिसियन)को १० बिघा ७ कठ्ठा १० धुर जग्गा कमैयाहरुलाई दिने निर्णय गर्‍यो । त्यस बेला जग्गा कम भएकाले परिचय–पत्र पाएका कमैयाहरुलाई पाँच कठ्ठाका दरले लालपुर्जा दिने र बाँकी कमैयाहरुलाई पाँच कठ्ठाका दरले अर्को ठाउँमा जग्गा दिने आश्वासन दिइयो । सोही सहमती अनुसार जिल्ला भुमिसुधार कार्यालयले पाँच कठ्ठाका दरले ३८ जना मुक्त कमैया परिवारलाई मात्र जग्ग्गा दियो भने जग्गा अभाव भएको भन्दै अन्य ३८ जनालाई अर्को स्थानमा जग्गा खोजेर दिने भने पनि हालसम्म जग्गा उपलब्ध गराएन । जसका कारण मुक्त कमैयाहरु बिच नै विवाद सृजना भएको छ ।’

हाल ओमनगर कमैया शिविरमा लालपुर्जा पाएका ३८ जना कमैया परिवार र लालपुर्जा नपाएका ३८ जना कमैया परिवार दुई समूहमा विभाजन भई पानी बाराबारको स्थितिमा पुगेका छन् । सामाजिक कार्यका लागि दुई समूहको भलमन्सा समेत अलग अलग चुन्ने गरेका छन् । लालपुर्जा पाएका कमैयाहरुले आफ्नो जग्गा खाली गर्न र भोगचलन गर्न पाउनु पर्ने अडान राख्दै आएका छन् भने लालपुर्जा नपाएका ३८ जना कमैयाहरुले अर्को ठाउँमा नसार्दासम्म जग्गा खाली नगर्ने अडान राख्दै दुई समूह बीच पटकपटक विवाद हुने गरेको कुमालले बताउनु भयो ।

शिविरमा दुई समूहको विवादका कारण गाउँपालिकाले सञ्चालन गर्ने विकासका योजना समेत आउन बन्द भएकोले मुक्त कमैया शिविरमा विद्यालय भवन निर्माण हुन नसक्दा साना बालबालिकाहरु टाढाको विद्यालयमा पढ्न जानु पर्ने बाध्यता छ । शिविरमा बिद्युत, खानेपानी र सिचाईको समस्या छ । शिविरमा बत्तिको पोल ल्याउन नसक्दा नजिकैको गाउँबाट महँगोमा बत्ति बाल्नु पर्ने बाध्यता रहेको कुमालले बताउनु भयो ।

लालपुर्जा पाइसकेका तर जग्गा भोगचलन गर्न नपाएका ३८ जना कमैया समूहका भलमन्सा चैनपती चौधरीले भूमिसुधार कार्यालयले लालपुर्जा दिएको २२ वर्ष बितिसक्दा समेत आफूहरुले भोगचलन गर्न नपाएको गुनासो गर्नु भयो ।

उहाँले भन्नुभयो—‘०६६ सालमा ३८ कमैयाहरुलाई लालपुर्जा दिएको थियो र बाँकी जग्गा नपाएको ३८ परिवालाई अर्को ठाउँमा दिने भनिएता पनि हालसम्म उनिहरुलाई अर्को ठाउँमा नसार्दा आफ्नो जग्गा भोगचलन गर्नबाट वञ्चित भएका छौँ । जग्गाको मालपोत हामी तिर्छौ तर जग्गामा अरुले बसोबास गरिहेका छन् ।’

लालपुर्जा नपाएका ३८ परिवार कमैयाहरुको व्यवस्थित पुनर्स्थापनाका लागि आफूहरुले पनि लामो समयदेखि राज्यका निकायहरुलाई दबाव दिदैआएको भए पनि सुनवाइ हुन नसक्दा दुबै पक्षका मुक्त कमैयाहरु पीडित भएको भलमन्सा चैनपतिको भनाइ छ ।

गाउँपालिकामा दुई समूह विचको विवाद मिलाइ दिन र विकासका योजना पारिदिन गाउँपालिकामा हरेक वर्ष ध्यानाकर्षण पत्र बुझाउदा पनि सुनुवाई नभएको चौधरीले गुनासो गर्नु भयो ।

संघ सरकारले कमैया श्रम (निषेध गर्ने सम्बन्धी) ऐन–२०५८, प्रदेश सरकारले मुक्त हलिया, कमैया, कम्लहरीका सम्बन्धमा व्यवस्थापना गर्न बनेको विधेयक—२०७८, र प्रत्येक स्थानीय तहले कार्यविधि निमांण गरेर मुक्त हलिया, कमैया, कम्लहरीहरुको पुर्नस्थापना गर्नु पर्ने कानुनी बाटो खुलेको भए पनि स्थानीय सरकारले कुनै चासो दिएको छैन् । पुनर्स्थापनाका कार्य पूर्ण रुपमा थप्प हुँदा मुक्त कमैयाहरुको दैनिकी जटिल बन्दै गएको छ ।

मैनामोती चौधरी

अन्य

भिडियो