सात महिनादेखि तलब तथा अन्य सेवा–सुविधा नपाएको भन्दै मधेश प्रदेशका १ सय ३६ वटै स्थानीय तहमा कार्यरत जनस्वास्थ्य प्रयोगशालाकर्मीहरूले जनकपुरधामस्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालाको कार्यालय अगाडि ०८३ असार २ गते धर्ना तथा प्रदर्शन गरेका छन्।
आर्थिक वर्ष २०८२/०८३ को कार्तिक महिनादेखि हालसम्म तलब भुक्तानी नभएको, चाडपर्व भत्ता नपाएको तथा चालु आर्थिक वर्ष समाप्त हुन लाग्दा समेत कर्मचारीहरूको म्याद नवीकरण प्रक्रिया टुङ्गो नलागेको भन्दै आफूहरू आन्दोलनमा उत्रिन बाध्य भएको प्रयोगशालाकर्मी अनिल महतोले बताउनु भयो ।

प्रयोगशालाकर्मीहरूको संयुक्त संघर्ष समितिका संयोजक साहिद राइनले सम्बन्धित निकायलाई पटक–पटक लिखित तथा मौखिक रूपमा जानकारी गराए पनि यस विषयमा कुनै प्रतिक्रिया नआएको गुनासो गर्नुभयो । श्रमिकको उचित पारिश्रमिक प्राप्त गर्ने अधिकार, सम्मानजनक कामको अधिकार तथा पेशागत सुरक्षासम्बन्धी अधिकारसँग जोडिएको भएपनि लामो समयदेखि पारिश्रमिक नपाएको अवस्थामा समेत सेवा दिन बाध्य रहेको उहाँले बताउनु भयो ।
आन्दोलनरत प्रयोगशालाकर्मी अन्जली यादवले २०८३ जेठ २९ गते सरकारलाई आफ्ना मागहरू ज्ञापनपत्र मार्फत बुझाएको जानकारी दिँदै मागहरूको सम्बोधन नभए थप सशक्त आन्दोलनका कार्यक्रम घोषणा गरिने चेतावनी दिनुभयो । तलब तथा सेवा–सुविधाबाट वञ्चित हुँदा कर्मचारीहरूको आर्थिक, सामाजिक तथा पेशागत अधिकार प्रभावित भएको यादवले बताउनु भयो ।

प्रयोगशालाकर्मीहरूले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, मधेश प्रदेश, श्रम तथा यातायात मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय तथा प्रदेश जनस्वास्थ्य प्रयोगशालाको ध्यानाकर्षण गराउँदै बाँकी तलब तत्काल भुक्तानी गर्न, सेवा सम्झौता नवीकरण गर्न तथा चाडपर्व, पोशाक, जोखिम र महँगी भत्ता उपलब्ध गराउन माग गरेका छन्।
उनीहरूले सात महिनादेखि पारिश्रमिकविहीन अवस्थामा सेवा दिन बाध्य पारिनु श्रमिकहरूको उचित पारिश्रमिक प्राप्त गर्ने अधिकार, रोजगारीको सुरक्षा, सामाजिक सुरक्षा तथा सम्मानजनक कार्य वातावरणसम्बन्धी अधिकारसँग सम्बन्धित विषय भएको उल्लेख गरेका छन्। मागहरू तत्काल सम्बोधन नगरिए आन्दोलनका कार्यक्रम थप सशक्त बनाइने चेतावनी समेत दिएका छन्। 