INSEC Online

विद्यालयबाट घर फर्कंदै गरेका दुई बालकको वर्षाको भेलमा परी मृत्यु

अविरल वर्षासँगै आएको भेलमा बग्दा प्यूठानको नौबहिनी गाउँपालिका–५ का दुई बालकको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी निरीक्षक हरि भट्टराईका अनुसार ६ वर्षीय बिमल खत्रीको शव असार २ गते फेला परेको थियो भने ११ वर्षीय मिलन खत्रीको शव असार ३ गते बिहान घटनास्थलबाट करिब एक किलोमिटर तल भेटिएको हो।

मृतक दुवै दाजुभाइ नौबहिनी गाउँपालिका–५ काँटेस्थित जनता प्राथमिक विद्यालयमा अध्ययनरत थिए। विद्यालयबाट पढाइ सकेर घर फर्कने क्रममा जोगीपँधेरामा आएको अचानकको भेलले उनीहरूलाई बगाएको प्रहरीले जनाएको छ।

बिमल खत्री कक्षा १ मा अध्ययनरत थिए भने मिलन खत्री कक्षा ३ मा अध्ययनरत थिए। घटनापछि स्थानीयवासी र प्रहरी र सरोकारवालाले खोजी कार्य सञ्चालन गरेका थिए।

रविन्द्र पाण्डे

अन्य

भिडियो