INSEC Online

रेबिज खोप नपाएर बालिकाको मृत्यु

तातोपानी गाउँपालिका–१ राँकाकी आठ वर्षीया समिता कामीको रेबिज विरुद्धको खोप समयमै नपाउँदा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा जेठ ३१ गते मृत्यु भएको छ ।

बालरोग विशेषज्ञ डा. कमल थानीका अनुसार बालिकालाई करिब दुई महिना अघि कुकुरले टोकेको थियो । समयमा खोप नलगाउदा संक्रमण गम्भीर बन्दै गएको र अन्तिम अवस्थामा मात्र परिवारले अस्पताल पुर्‍याएका कारण उनको मृत्यु भएको हो ।

रेबिज इन्सेफ्लाइटिसको कारण भएको यो मृत्युले जुम्लामा रेबिज खोपको अभाव र जनचेतनाको समस्यालाई पुनः उजागर गरेको छ । डा.थानीले समितालाई टोकेकै कुकुरले थप तीन चार जनालाई पनि टोकेको भन्ने खबर आएकोले तत्काल पहिचान गरी आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराउनु जरुरी रहेको बताउनु भयो ।

रेबिज शतप्रतिशत ज्यान लिन सक्ने रोग भएकाले समयमै खोप लगाए पूर्ण रूपमा रोकथाम गर्न सकिने डाः थानीको भनाइ छ । यता, जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका प्रमुख किरण शर्माले समयमै टेन्डर प्रक्रिया पूरा हुन नसक्नु नै खोप अभावको मुख्य कारण भएको बताउनु भयो ।

नेपाल सरकारले विगतमा निःशुल्क उपलब्ध गराउँदै आएको रेबिज विरुद्धको खोप हाल कर्णालीका अधिकांश स्वास्थ्य संस्थामा उपलब्ध नभएको उहाँको भनाइ छ ।

जुम्लाको कालिकाखेतु स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा मात्र बीस डोज खोप सीमित मात्रामा मौज्दात रहेको छ । खोपको अभाव, जनचेतनाको कमी र स्वास्थ्य सेवामा ढिलाइका कारण अझै पनि यस्ता दुःखद घटनाहरू दोहोरिने जोखिम उत्तिकै रहेको विशेषज्ञहरूले बताएका छन् । शर्माले कुकुर, स्याल वा अन्य जनावरले टोकेपछि नजिकको स्वास्थ्य संस्थामा पुगेर रेबिज विरुद्धको खोप लगाउन सबैलाई आग्रह गर्नुभएको छ ।

मानदत्त रावल

अन्य

भिडियो