INSEC Online

📅 २०८३ जेष्ठ २५

विविध कार्यक्रमसहित जानकी गाउँपालिकामा विश्व वातावरण दिवस सम्पन्न

“प्रकृतिबाट प्रेरित जलवायुका लागि हाम्रो भविष्य” भन्ने मूल नारासहित जानकी गाउँपालिका र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेश कार्यालयको आयोजनामा विश्व वातावरण दिवस विविध कार्यक्रम गरी जेठ २२ गते जानकी गाउँपालिकामा सम्पन्न गरिएको छ।

विश्व वातावरण दिवसको अवसरमा कन्या माध्यमिक विद्यालय परिसरमा वृक्षारोपण, गाउँपालिका परिसरमा सरसफाइ कार्यक्रम, वातावरण संरक्षणमा वृक्षारोपणको भूमिका विषयक वडास्तरीय बाल क्लबका सदस्यहरूबीच वक्तृत्वकला प्रतियोगिता तथा गाउँपालिकाभित्रका १३ जना निजी वन सञ्चालकलाई सम्मानपत्र र दोसल्ला प्रदान गरिएको थियो।

कार्यक्रमका प्रमुख अतिथि तथा जानकी गाउँपालिकाकी उपाध्यक्ष रामप्यारी यादवले वातावरण संरक्षण र स्वच्छ वातावरण निर्माणका लागि वृक्षारोपणको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । उहाँले वृक्षारोपणसँगै त्यसको संरक्षणमा समुदाय र स्थानीय तहको साझा जिम्मेवारी रहने उल्लेख गर्दै वातावरण संरक्षणका लागि कार्ययोजनासहित नीतिगत सुधार गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत परशुराम उपाध्यायले वातावरण प्रदूषणका कारण जलवायु परिवर्तनमा परेको प्रभावबारे जानकारी गराउँदै वातावरण संरक्षणका लागि विशेष कार्ययोजनासहित प्रभावकारी कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेकोमा जोड दिए।

कार्यक्रममा सहभागी विद्यार्थीहरूले वातावरण स्वच्छ राख्न सरसफाइ र वृक्षारोपणलाई प्राथमिकता दिनुपर्ने धारणा व्यक्त गर्दै वातावरण संरक्षण अभियानमा युवा तथा विद्यार्थीहरूको भूमिका महत्वपूर्ण हुने बताउनु भयो ।

जानकी गाउँपालिकामा कार्यरत विभिन्न संघसंस्था, इन्सेक, एसडीएफ, बी ग्रुप, मिलाप नेपाल, सुन्दर विहानी क्लब तथा वडास्तरीय बाल क्लबहरूको सहकार्य र समन्वयमा विश्व वातावरण दिवस कार्यक्रम सम्पन्न गरिएको आयोजकले जनाएको छ।     

ध्रुबराज शर्मा

अन्य

भिडियो