अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश, मानव अधिकार रक्षक सञ्जाल, गण्डकी प्रदेश र मानव अधिकारका लागि दलित महिला सशक्तीकरण नेपाल पोखराको संयुक्त आयोजनामा ०८३ जेठ २१ गते समतामूलक सभ्य समाज निर्माण गरौँ भन्ने मूल नाराका साथ जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको अवसरमा पोखराको लेखनाथमा रक्तदान तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय मानव अधिकार आयोग गण्डकी प्रदेश कार्यालयका प्रमुख नीतु गर्तौलाले नेपाल सरकारले मुलुकलाई सबै किसिमका विभेद र जातीय छुवाछूतमुक्त राष्ट्र घोषणा गरेको स्मरणमा यो दिवस मनाउँदै आइएको बताउनुभयो । कानुनमा व्यवस्था भए पनि व्यवहारमा अझै विभेद बाँकी रहेकाले यसको पूर्ण कार्यान्वयनमा सबै पक्ष लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

यसैगरी, इन्सेक गण्डकी प्रदेश कार्यालयका संयोजक गणेश भण्डारीले पुस्तौँदेखि जातीय उत्पीडन र विभेदको सास्ती भोग्न बाध्य दलित समुदायलाई राष्ट्रिय मूलधारमा ल्याउन यस्ता दिवसहरूले सघाउने विश्वास व्यक्त गर्नुभयो । भण्डारीले छुवाछूत र भेदभाव अन्त्यका लागि केवल नीति मात्र पर्याप्त नहुने भन्दै स्थानीय पालिकास्तरसम्म अझै सशक्त र प्रभावकारी सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिनुपर्ने आवश्यकता औंल्याउनुभयो ।
मानव अधिकार रक्षक सञ्जाल, गण्डकी प्रदेशका संयोजक रामहरी ढुङगानाले जातीय भेदभाव तथा छुवाछूत मानव अधिकारको गम्भीर उल्लङ्घन भएको बताउनुभयो । ढुङगानाले समानता, सम्मान र सामाजिक न्यायको सुनिश्चितताका लागि राज्य, नागरिक समाज तथा समुदाय सबैले साझा जिम्मेवारीका साथ काम गर्नुपर्नेमा जोड दिनुभयो । दलित समुदायमाथि हुने विभेदका घटना पूर्ण रूपमा अन्त्य नभएसम्म सचेतना, पैरवी र अधिकारमुखी अभियानलाई निरन्तरता दिन आवश्यक रहेको उहाँले बताउनुभयो ।
नेपाल रेडक्रस सोसाइटी कास्कीका सदस्य बबिता सुवेदीले कतै पोखरामा दैनिक १ सय युनिट ब्लडको माग भए पनि ५०/६० युनिट मात्र सङ्कलन हुने गरेकोले रगतको अभाव भइरहेको अवस्थामा आयोजना गरिएको यस रक्तदान कार्यक्रमले मानव जीवन बचाउन महत्वपूर्ण योगदान पु¥याउने बताउनुभयो ।
नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्तसञ्चार केन्द्र, पोखराको प्राविधिक सहयोग तथा नेपाल रेडक्रस सोसाइटी कास्कीको समन्वयमा सञ्चालित उक्त कार्यक्रम अधिकारका लागि दलित महिला सशक्तीकरण नेपालकी अध्यक्ष ईश्वरी विकको अध्यक्षतामा सम्पन्न भएको थियो ।