महिलालाई सामाजिक सञ्जालमा चरित्र हत्या गरी मर्न बाध्य पारेको आरोपमा प्रहरीले भोजपुर जिल्ला टेम्केमैयुम गाउँपालिका–६ गोगनेका ४९ वर्षीय कुमार थापालाई ०८३ जेठ २० गते गिरफ्तार गरेको छ ।
दिप्रुङ चुइचुम्मा गाउँपालिका–६ की ३२ वर्षीया देवी विष्ट कार्कीले सामाजिक सञ्जालमा गरिएको चरित्र हत्या कारण जेठ २० गते आत्महत्या गरेपछि प्रहरीले थापालाई अनुसन्धानका लागि गिरफ्तार गरेको हो ।
सामाजिक सञ्जाल फेसबुक, आइएमओलगायत प्लेटफर्ममा अश्लिल तस्विर जोडेर चरित्र हत्या गरेपछि कार्कीले जेठ २० गते आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर निराजन बस्नेतले बताउनु भयो ।
दिप्रुङ चुइचुम्मा गाउँपालिका–६ घरनजिकैको जङ्गलमा झुण्डिएर महिलाले आत्महत्या गरेको अवस्थामा जेठ २० गते शव फेला परेपछि प्रहरीले गरेको अनुसन्धानका क्रममा सामाजिक सञ्जालमा आरोपित कुमार थापाले चरित्र हत्याका कारण पीडितले आत्महत्या गरेको इन्स्पेक्टर बस्नेतले बताउनु भयो ।
आरोपितविरूद्ध प्रहरीले जिल्ला अदालतमा आत्महत्या दुरूत्साहन शीर्षकमा मुद्दा दर्ता गरी कारबाही अघि बढाएको छ ।