INSEC Online

📅 २०८३ जेष्ठ २१

विद्यार्थीलाई विद्यालयका कर्मचारीले अमानवीय व्यवहार गरेको आरोप

खिजीदेम्वा गाउँपालिका–४ स्थित कुण्डली माध्यमिक विद्यालयमा कक्षा १ मा पढ्ने दुई जना छात्रालाई जुत्ता चाट्न लगाएर विद्यालयका कर्मचारीले अमानवीय व्यवहार गरेको अभिभावकले आरोप लगाएका छन् ।

विद्यालयका कर्मचारी सुजन सुनुवारले सोही विद्यालयमा कक्षा १ मा पढ्ने विद्यार्थी रिकेश नेपाली र आकाश दर्जीलाई फागुन २६ गते अर्का विद्यार्थी जोन दर्जीका जुत्ता चाट्न लगाएको अभिभावकको आरोप छ ।

बिस्कुट खाने विषयमा विवाद हुँदा आफ्ना छोरालाई जुत्ता चाट्न लगाएको भन्दै रिकेश नेपालीकी आमा पम्फा नेपालीले फागुन २७ गते विद्यालयमा उजुरी गरेकी छिन् ।

‘जोन दर्जीले ल्याएको बिस्कुट खानका लागि कर्मचारी सुनुवारले मेरो छोरालाई जोनको जुत्ता चाट्न लगाए छन् । हामीमाथि विभेद गर्न खोजेको हो ?’ उनले आक्रोश पोखिन् । उनले दलित भएकै कारण दुव्र्यवहार गरेको आरोप लगाएकी छन् ।

घटनाबारे आरोपित कर्मचारी सुनुवारले आपूmले विद्यार्थीलाई जुत्ता चाट्न नलगाएको बताए । उनले साथीले ल्याएर खान लागेको बिस्कुटका विषयमा दुई विद्यार्थीबीच विवाद हुँदा बिस्कुट खान खोज्ने विद्यार्थीलाई बिस्कुट ल्याउने उनका साथीलाई नमस्कार मात्रै गर्न भनेको दावी गरे ।

‘दुई जनाबीच विवाद भएपछि मैले साथीलाई नमस्कार गर्न मात्रै भनेको थिएँ, यसलाई राजनीतिक रुपमा उचालिएको छ ।’–सुनुवारले भने ।

विद्यालयका प्रधानाध्यापक नारायण दाहालले अभिभावकले गुनासो गरेपछि छलफल गराउँदा जुत्ता चाट्न लगाएको भन्ने विषय आरोप मात्रै भएको बताए ।

उनले दुई विद्यार्थीबीच बिस्कुट खान विवाद हुँदा बिस्कुट ल्याउने साथीलाई कर्मचारी सुनुवारले नमस्कार गर्न मात्रै लगाए पनि गलत रुपमा प्रचार गरेको जानकारी दिए । दाहालले यस विषयमा छलफल गरेर समस्या समाधान गर्न पहल भएको बताए ।

गाउँपालिकाका अध्यक्ष वेदबहादुर रोक्काले घटनाबारे विस्तृत अध्ययन गर्ने बताए । उनले विद्यालयका प्रधानाध्यापक र आरोपित कर्मचारीसँग छलफल गरिसकेको जनाए । घटना प्रचारमा आएजस्तो नभएको उनको भनाई छ ।

अन्य

भिडियो