INSEC Online

📅 २०८३ जेष्ठ २१

शिक्षाको अधिकार सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) तथा मानव अधिकार समूहको आयोजनामा शिक्षाको अधिकार सम्बन्धी अन्तरक्रिया कार्यक्रम जानकी गाउँपालिका–३, मानपुरस्थित नेपाल राष्ट्रिय कन्या माध्यमिक विद्यालयमा ०८३ जेठ ८ गते सम्पन्न भएको छ । कार्यक्रममा पालिकाभित्रका विभिन्न विद्यालयका शिक्षक–शिक्षिका, प्रधानाध्यापक, मदरसा प्रतिनिधि तथा जनप्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

कार्यक्रममा शिक्षाको अधिकार प्रभावकारी कार्यान्वयनका लागि विद्यालयका पूर्वाधार, विषयगत शिक्षक अभाव, शौचालय, खानेपानी तथा शैक्षिक सामग्री व्यवस्थापनका विषयमा छलफल गरिएको थियो । आगामी आर्थिक वर्ष २०८३/०८४ को योजना तथा बजेटमार्फत विद्यालयका समस्या समाधान गर्न सकिनेमा सहभागीहरूले जोड दिएका थिए ।

कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्दै इन्सेक फोकल पर्सन लक्ष्मी थारुले बालबालिकाले सहज र गुणस्तरीय शिक्षा प्राप्त गर्नुपर्ने बताउनुभयो । उहाँले विद्यालयहरूको नियमित अनुगमन, प्रभावकारी पठनपाठन तथा आवश्यक पूर्वाधार विकासमा गाउँपालिका र इन्सेकको सहकार्यबाट शिक्षाक्षेत्रमा सुधार हुँदै गएको उल्लेख गर्नुभयो ।

मदरसा शिक्षक तथा शिक्षा समिति सदस्य रसीद अहमद राईले मदरसाहरूमा शिक्षकको तलबमा एकरूपता नभएको गुनासो गर्दै राज्यबाट विभेद भएको अनुभूति भइरहेको बताउनुभयो । उहाँका अनुसार संघीय सरकारबाट प्रत्येक मदरसालाई ३ लाख रुपियाँ अनुदान प्राप्त भए पनि प्रदेश सरकार र स्थानीय तहबाट प्राप्त हुने ५२ हजार रुपियाँ यस वर्ष कटौती गरिएको छ । उहाँले प्रशासनिक खर्च, अडिट, एसआईपी निर्माण, रजिस्टर व्यवस्थापन लगायतका कार्य सञ्चालनमा आर्थिक अभाव रहेको उल्लेख गर्नुभयो ।

नेपाल राष्ट्रिय आधारभूत विद्यालय कपासीका प्रधानाध्यापक कृष्ण गोपाल पालले विद्यालयमा कक्षा ६ सम्म सञ्चालन भइरहे पनि शिक्षक दरबन्दी अत्यन्त न्यून रहेको बताउनुभयो । हाल तीन जना शिक्षकले सम्पूर्ण कक्षाको जिम्मेवारी सम्हाल्नुपरेको र शैक्षिक सामग्री अभावका कारण गुणस्तरीय शिक्षा प्रदान गर्न कठिन भइरहेको उहाँको भनाइ थियो ।

त्यस्तै, जनसेवा आधारभूत विद्यालय गिजराका प्रधानाध्यापक नारायण लामिछानेले विद्यालय भवन र शौचालय जीर्ण अवस्थामा रहेकाले व्यवस्थापनमा समस्या भएको बताउनुभयो । उहाँले विद्यालयका लागि नयाँ भवन, पाँच कोठे शौचालय तथा गणित शिक्षकको आवश्यकता रहेको जानकारी दिनुभयो । निजी विद्यालयहरूको बढ्दो प्रभावका बीच सामुदायिक विद्यालयको पूर्वाधार सुधार गर्न सके विद्यार्थी संख्या बढाउन सकिने उहाँको भनाइ थियो ।

पञ्चपोखरा विद्यालयका प्रधानाध्यापक प्रेम भण्डारीले विद्यालयमा स्वास्थ्य, खानेपानी, लैंगिक तथा अपांगमैत्री शौचालयको आवश्यकता औंल्याउँदै जग्गा व्यवस्थापनका लागि समुदायसँग समन्वय आवश्यक रहेको बताउनुभयो । उहाँले विद्यार्थीहरू नियमित विद्यालय नआउने समस्या समाधानका लागि अभिभावक सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।

सामाजिक विकास शाखा संयोजक रामअचल धोवीले गिजरा विद्यालयमा भवन तथा खेलमैदान निर्माणका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले खानेपानी, शौचालय, शिक्षक दरबन्दी तथा कक्षाकोठा व्यवस्थापनमा गाउँपालिकाले सहयोग गरिरहेको जानकारी दिनुभयो । मदरसाहरूलाई एसडिएफ संस्थामार्फत शैक्षिक सामग्री तथा कक्षाकोठा व्यवस्थापनमा सहयोग प्राप्त भएको उल्लेख गर्दै त्यसको प्रभावकारी प्रयोग गर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समिति सदस्य जुलफे अली मनिहार, जानकी गाउँपालिका उपाध्यक्ष रामप्यारी यादव लगायतको उपस्थिति रहेको थियो । मानवअधिकार समूहका अध्यक्ष मो. जाहिर शेषले बालअधिकार संरक्षण र गुणस्तरीय शिक्षाका लागि सहकार्य निरन्तर रहने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।      

ध्रुबराज शर्मा

अन्य

भिडियो