६१ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–८ चिउरीडाँडाका ५३ वर्षीय जयप्रसाद राईविरूद्ध जिल्ला अदालत दिक्तेलमा मुद्दा दर्ता भएको छ ।
आरोपितले आफूलाई पटकपटक बलात्कार प्रयास गरेको भन्दै पीडितले फागुन २१ गते अदालतमा मुद्दा दर्ता गराएको हो ।
आरोपितले पछिल्लो पटक फागुन १८ गते बलात्कार प्रयास गरेको पीडितले आरोप लगाएकी छन् ।
घटनापछि हारगुहार गर्दा समेत आरोपितले आफूलाई नछाडी लडाउन खोजेको उल्लेख गरिएको छ । आरोपितविरूद्ध प्रतिकार गरेर कराउँदै भाग्दा समेत आफूलाई नछाडी गहुँबारीमा लडाएर बलात्कारको प्रयास गरेको पीडितको आरोप छ ।
पति र छिमेकीहरू भेला भएपछि आरोपित भागेको जनाइएको छ । उनले यस घटनाभन्दा अगाडि दुई पटक करणीको आशयले दुर्व्यवहार गरेको पीडितको आरोप छ ।
पीडितले अदालत समक्ष मुलुकी अपराध संहिता २०७४ को दफा २२४ को उपदफा (१) (२) बमोजिम यौन दुर्व्यवहार गरेको हुँदा सोही ऐनको दफा २२४ को उपदफा (३) बमोजिम हदै सम्मको कैद र जरिबाना तथा सोही दफा २२८ बमोजिम क्षतिपूर्तिको माग गरेकी छिन् ।
घटनाका आरोपित राईको घरमा पीडितका पतिले लामो समयदेखि हलीको रूपमा काम गर्दै आएको र पति बृद्ध अवस्थामा भएपछि छोराले २०५५ सालदेखि वार्षिक १० हजार रुपियाँमा काम गर्दै आएकोमा भनेको समयमा काम नगरेको भन्दै आफूमाथि यौन दुर्व्यवहार गरेको पीडितद्वारा दायर गरिएको मुद्दामा उल्लेख छ । अदालतले उक्त मुद्दा उपर कारवाही प्रक्रिया अघि बढेको जानकारी दिएको छ ।