INSEC Online

📅 २०८३ जेष्ठ २१

मानव अधिकार र कानुनी सचेतनाका लागि समन्वय जरूरीः मन्त्री केसी

मानव अधिकार र कानुनी सचेतनाका लागि प्रदेश सरकार र मानव अधिकार समुदायको समन्वय जरूरी रहेको आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीले बताएका छन् ।

इन्सेक प्रदेश ५ कार्यालयको आयोजनामा फागुन ७ गते आयोजित नेपाल मानव अधिकार वर्ष पुस्तक २०१९ को सार्वजनिकीकरण कार्यक्रममा उक्त कुरा बताएका हुन् ।

मन्त्री केसीले मानव अधिकार उल्लङ्घनका घटनाहरूलाई न्युनीकरण गर्नका निम्त्ति के कसरी सहकार्य गरेर अगाडी बढन सकिन्छ त्यस विषयमा सोच्नका लागि पनि इन्सेकलाई आग्रह गरे ।

मानव अधिकारको संरक्षण र प्रवर्धनका निम्ति प्रदेश सरकार सम्वेदनशील रहेको बताए । उनले समाजमा पछाडि पारिएका समुदायहरूलाई राज्यको मुलधारमा ल्याउनका निम्ति प्रदेश सरकार लागि परेको भन्दै स्वःअनुशासित समाज नबन्दासम्म मानव अधिकारको पूर्ण अनुभूति गर्न नसकिने बताए ।

प्रदेश सभाका विपक्षी दलका नेता बलदेव शर्माले मानव अधिकारको संरक्षण र मानव अधिकारको संस्कृतिको विकासमा इन्सेकको भूमिका महत्वपूर्ण रहेको बताए ।

प्रदेश सांसद माननीय आइपी खरेलले इन्सेकले विगत लामो समयदेखि मानव अधिकारको क्षेत्रमा महत्वपूर्ण काम गर्दै आइरहेकोे र आगामी दिनमा वैदेशिक रोजगारीमा जाने युवाहरूको अधिकारका विषयमा काम गर्न इन्सेकलाई सुझाव दिए ।

बुटवल उपमनपाका मेयर शिवराज सुवेदीले इन्सेकले मानव अधिकारको संरक्षणका निम्त्ति स्थापित संस्था भएको बताउदै यसले पीडितहरूको सङ्ख्या घटाउनका निम्ति महत्वपूर्ण कार्य गरेको बताए ।

पूर्व सांसद विनोद पहाडीले इन्सेकले मानव अधिकारको अनुगमन र अभिलेखीकरणको क्षेत्रमा सरकारले गर्न नसकेको महत्वपूर्ण काम गरेको बताए ।

उनले इन्सेकको कारणले कतिपय व्यक्तिको जीवन प्रगतिपथमा अगाडि बढेको बताए । पहाडीले इन्सेक मानव अधिकारको सूचना श्रोतको भण्डार भएकोले सरकारलाई समेत सजिलो भएको बताए ।

इन्सेक प्रदेश ५ का संजोजक भोला महतले प्रदेश ५ को मानव अधिकारको अवस्था प्रस्तुत गरेका थिए । सन् २०१८ मा राज्य पक्षबाट दुई जना र अन्य पक्षबाट ६५ जनाको हत्या, यातनामा चार जना, अन्य पक्षबाट धम्की तथा कुटपिटमा २३ जना, जातीय विभेदमा १७ जना महिला अधिकार उल्लङ्घनका ७ सय ३६ जना, अपहरण घटनामा सात जना, आर्थिक सामाजिक तथा सांस्कृतिक अधिकारका घटनामा दुई जना, बाल अधिकार उल्लङ्घनका घटनामा २ सय ४८ जना अमानवीय व्यवहारमा १३ जना पीडित भएको तथ्याङ्क प्रस्तुत गरेका थिए ।

यसैबीच प्रदेश ५ मा उत्कृष्ट जिल्ला प्रतिनिधि रीमा बिसीलाई नगद ७ हजार तथा प्रशंसापत्रसहित पुरस्कृत गरिएको छ ।

अन्य

भिडियो