जुम्लाका १५ ओटा मतदान केन्द्रमा हिमपात भएको खण्डमा निर्वाचन गर्न कठिन हुने जनाइएको छ । हिउँ परेको खण्डमा ती मतदान केन्द्रमा निर्वाचन गर्न कठिन हुन सक्ने विषयमा गृह मन्त्रालयलाई जानकारी गराई सकेको प्रमुख जिल्ला अधिकारी दिपक पौडेलले बताउनु भयो । जुम्लामा एक नगरपालिका र सात गाउँपालिका गरी आठ ओटा स्थानीय तह छन् । यहाँ ८५ ओटा मतदान स्थल र १ सय १० ओटा मतदान केन्द्र रहेका छन् । जिल्लामा ७१ हजार सात सय ३९ जना मतदाता संख्या रहेका छन् । तीमध्ये ३७ हजार चार सय ५९ जना पुरुष र ३४ हजार दुई सय ८० जना महिला मतदाता रहेका छन् ।
यहाँका करिब ३० प्रतिशत नागरिकहरु जिल्ला बाहिर रहेको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ । मङ्सिरदेखि चैत महिनासम्म हिउँ पर्ने हुँदा जुम्लाका नागरिकहरु जाडो छल्न र विभिन्न व्यापार व्यवसायका लागि तराईमा झरेको प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनु भयो ।
उहाँका अनुसार जुम्लाका मानिसहरुको घर नेपालगञ्ज र सुर्खेतमा पनि भएको हुँदा हिउँदमा त्यहाँ जाने र वर्षामा खेतिपाती गर्नका लागि गाउँमा आउने भएकाले अहिले गाउँमा कम मानिसहरु रहेका छन् ।
यहि फागुन २१ गते हुने निर्वाचनको मतदान केन्द्र अवलोकनको क्रममा जुम्लाका बस्तीहरुमा पुग्दा त्यहाँ कतिपय घरहरु ढोका नै बन्द छन् । मानिसहरु तराई तिर झरेको हुनाले जिल्ला भरीको कुल जनसंख्याको करिब ३० प्रतिशत जति मानिसहरु जिल्ला बाहिर नै रहेको प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनु भयो । व्यापार, व्यवसाय तथा विभिन्न कामको खोजीमा यहाँका मानिसहरु नेपालगञ्ज, सुर्खेत, काठमाडौँ लगायतका शहर र भारतमा समेत गएको हुँदा निर्वाचनको समयमा आउने नआउने विषयमा निश्चित नभएको तिला गाउँपालिका–४ नुवाकोटका गोरीकला नेपालीले बताउनु भयो । उहाँले गाउँमा रहेका एक सय ८१ घरमध्ये २५ ओटा घरका सबै परिवारहरु भारत र नेपालका विभिन्न शहरमा गएको बताउनु भयो ।