INSEC Online

📅 २०८३ जेष्ठ २१

जलवायु परिवर्तनको चपेटामा हिमाली क्षेत्र, विपत्तिको निशानामा मानव बस्ती

खुम्बु पासाङल्हामु गाउँपालिकाको खुम्बु क्षेत्रमा ०८१ साउन ३२ गते बिहानैदेखि पानी प¥यो । हिमाली भेग, उसै पनि तुवाँलाले ढाकेको थियो । मध्य वर्षातमा त हुस्सु डम्मै । वरपर पनि देख्न गाहृो, थामे आफैँमा ३ हजार ८ सय मिटर उचाइमा पर्छ । करिब ६५ घरपरिवारको बसोबास रहेको थामे अति सुन्दर र मनोरम उपत्यका हो । पर्यटकीय ठाउँ, त्यही गाउँको माथिबाट साउन ३२ गते मध्यान्हमा ठूलो आवाज र लेदोसहित बाढी आयो । बाढी आएको दृश्य सामाजिक सञ्जालमा यत्रतत्र भए ।

उच्च समस्थली भूभाग, थामेमा उत्पादन हुने प्रकृतिका केही गहृाहरू पनि छन् । तर त्यही गहृाहरूमा अहिले ठूल्ठूला ढुङ्गाहरू आएर बसेका छन् । संयोग नै भनौं, थामेमा असार ३२ गते हिमताल फुटेर बाढी आउँदा समय मध्यान्हको थियो । अफ–सिजन भएकाले पर्यटक थिएनन् । नाम्चेमा शुक्रबार हाट लाग्ने र दिउँसो भएकाले कतिपय नाम्चे बजार झरेका थिए । कति गोठाला गएका थिए, त्यसैले मानवीय क्षति भएन । तर, कटान र बगानका कारण थामे बगरमा परिणत भएको छ ।

थामेमा हिमताल फुटेर बाढी आउनुमा तापक्रम वृद्धि मुख्य कारण भएको एक अध्ययनले देखाएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले ०८१ भदौ ५ गते सिंहदरबारमा पत्रकार सम्मेलन गरी तापक्रम वृद्धिका कारण दुई ओटा हिमताल फुट्न गइ बाढी बस्तीमा पसेको पुष्टि गरेको छ ।

प्राधिकरणका प्रमुख कार्यकारी प्रमुख अनिल पोखरेलले माथिल्लो हिमतालमा रहेको हिउँ तापक्रम वृद्धिका कारण पग्लिएको र अविरल वर्षाका कारण पानीको सतह पनि बढ्न गइ पानीको छाल तल्लो हिमतालमा बजारिएको र त्यस पोखरीको कमजोर मुख फुट्न जाँदा थामेमा बाढी पसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको अनुसन्धानले देखाएको छ । हिउँ पग्लेको कारण पानी र त्यसको केही छाल समेत तल्लो तालमा गएर बजारिएको झन ठूलो रूप लिएको प्राधिकरणका प्रमुख कार्यकारी प्रमुख अनिल पोखरेलको भनाइ छ । थामे बाढीका कारण २० भन्दा बढी घरहरूमा क्षति पुगेको छ ।

थामे आधारभूत विद्यालय, स्वास्थ्य चौकी र छात्रावास पूर्ण रूपमा क्षतिग्रस्त भएको छ । बाढीका कारण अन्य घरहरूमा क्षति पुगेको थामे बाढीग्रस्त क्षेत्रको अनुगमनपछि प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीको भनाइ छ । खुम्बु पासाङ ल्हामु गाउँपालिका–५ मा रहेको ९ सय ५० किलोवाट क्षमताको जलविद्युत आयोजनामा सोही बाढीले क्षति पु¥याउदा ९ सय हाराहारी घरधुरी अन्धकारमा बस्न बाध्य हुनु परेको छ ।

बाढी आएको भोलिपल्ट भदौ १ गते नेपाल सरकारका रक्षा मन्त्रीसहितको टोली थामे गाउँमा पुगेर प्रति घर १५ हजार रुपियाँ राहत रकम वितरण गर्यो । खुम्बु पासाङ ल्हामु गाउँपालिकाले ५० हजार रुपियाँ राहत स्वरुप नगद हस्तान्तरण गर्यो । खुम्बु र दोलखाको रोल्वालिङ उपत्यका जोडिने टासी लाप्चा पासतर्फबाट अकस्मात् बाढी आएको थियो । थाम बाढीका कारण विस्थापित भएका १ सय बढीलाई तल्लो थामेमा अस्थायी रूपमा बसोवासको व्यवस्था गरिएको छ ।

थामे क्षेत्रमा ढुङ्गा, गिटी र लेदो मिश्रित गेग्रान भरिएकाले अप्रत्यक्ष रूपमा पुरै गाउँ प्रभावित भएको छ । थामे गाउँमा मात्रै १ अर्ब भन्दा बढीको भौतिक क्षति भएको प्रारम्भिक अनुमान सरकारले गरेको छ । थामेको शिरमा पाँच ओटा साना–ठूला हिमताल छन । त्यसमा दुई ओटा फुटेको र अरू पनि जोखिममा छन् । ६५ घरका करिब १ सय २० जना दिनमा भोक न रातमा निद्राको अवस्थामा छन् । बाढी आएको झण्डै दुई महिना बित्न लागेपनि माथिल्लो थामे क्षेत्र (थामे थिङ)मा आफन्तको घरमा सहारा लिएर बस्न बाढी पीडितहरू बाध्य छन् । सामुदायिक भवन, गुम्बा र अन्यन्त्र बस्दा खानबस्नको समस्या भएपछि सबैजसो बाढीपीडित आफन्तको शरणमा छन् ।

खुम्बु पासाङल्हामु गाउँपालिकाको केन्द्रबाट थामे पुग्न करिब १० घण्टा पैदल यात्रा गर्नुपर्छ । गाउँ र सहर आवतजावत गर्न हेलिकोप्टर प्रयोग गर्नुपर्ने अवस्थाको गाउँमा बाहिरबाट राहत लगेर बाँड्ने कार्यसहज छैन । सिङ्गो गाउँ प्रभावित भएकाले आसपासका आफन्तले धेरै दिन आश्रय दिन सक्ने अवस्था छैन । त्यहाँका अधिकांश पुरूष पर्यटन व्यवसाय र केही रोजगारीका लागि गाउँबाहिर छन् ।

थामे गाउँमा धेरैजसो महिला र बालबालिका बस्छन । यहाँका महिलालाई बालबालिका सम्हालेर विपत्तिको सामना गर्न गाहृो छ । जीवनभर दुःख गरेर जोडेको सम्पत्ति, घरघडेरी, लत्ताकपडा, सुन र नगदसहितको सबै सम्पत्ति बाढीले बगाएको स्थानीय तारा शेर्पाको भनाइ छ ।

तत्कालका लागि वासस्थान र भविष्यमा काम गर्ने वातावरण मिलाइदिन थामेका स्थानीयले सरकारसँग माग गरेका छन् । ‘सबैथोक गुमाउँदा हाम्रो बिचल्ली भयो । आफन्तको घरमा हारगुहार मागेर बस्नुपरेको छ, यसरी कति दिन चल्छ, भएको सबै गुम्यो, भोलिको सम्भावना पनि केही छैन अब के गर्ने होला ?’ बाढी पीडित ताराको भनाइ छ । ताराले भनिन् ‘हामीलाई बस्ने वास र गर्ने काम चाहियो । नत्र त भोकमारी लाग्ने अर्को चिन्ता छ ।

हिमपोखरी फुटनुको मुख्य कारण– तापक्रम वृद्धि
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले हिमताल फुट्नुअघि त्यहाँको आकाशमा कालो बादल मडारिएको र त्यसले अनिष्ट निम्त्याउने सङ्केत देखिएको स्थानीयहरूले बताएका थिए । त्यो फुट्नुको कारण तापक्रम बढ्नु हो । जुलाई र अगष्टमा तापक्रम बढी भएको प्राधिकरणले जनायो । थामेको शिरमा रहेको दुई दुई ओटा ताल विस्फोट भएर तल्लो तटीय क्षेत्र खण्डहर तुल्याउनुमा जल तथा मौमम विज्ञान विभागले दुई ओटा कारण औंल्याएको छ ।

हिमताल दुई भन्दा माथिल्लो क्षेत्रमा जमिनको सतह (ग्राउन्ड सर्फेस) मा आएको भूक्षय, भूपरिवर्तनको (कम्पाउन्ड क्यासकेडिङ इफेक्ट) ले हिमताल विस्फोट भइ तटीय क्षेत्र खण्डहर तुल्याएको विभागको निष्कर्ष छ ।

मौसम विज्ञान विभागका वरिष्ठ जलवायुविज्ञ सुनिल पोखरेल, जलवायुविज्ञहरू निराकार थापा, मौसम भण्डारी, जोसन महर्जन र सुमित अधिकारीले थामे बाढी घटनाबारे विस्तृत अध्ययन गरी प्रतिवेदन सार्वजनिक गरेका छन् । पछिल्ला दिनमा हिमाल पग्लिने क्रम सुरूआत भएसँगै हिमतालको आकार र सङ्ख्या वृद्धि भइरहेको वैज्ञानिकका अनुसन्धानले देखाएका छन् ।

हिमतालको पानी निकास गर्न ठूलो धनराशि जुटाउनुपर्ने बाध्यता छ । हिन्दु–कुश हिमालय क्षेत्रमा जोखिममा रहेका ४७ ओटा हिमतालमध्ये २१ ओटा नेपालमै छन् । सन् २०१६ मा सगरमाथा क्षेत्रको ५ मिटर उचाइमा अवस्थित इम्जा हिमतालको पानीको सतह घटाउन मात्रै ७ दशमलव २ मिलियन अमेरिकी डलर खर्च भएको थियो । राष्ट्रसङ्घीय वातावरण कोषको सहयोगमा पानी घटाइएको इम्जा हिमतालको जोखिम अहिले पनि टरेको छैन ।

वैज्ञानिकहरूले जोखिममा रहेका भनिएका नेपालका २१ ओटा हिमतालमध्ये ठुलागी, होङ्गु, तल्लो वरूण र लुम्दिङ छो गरी चार ओटा हिमतालको पानी तत्कालै निकास गर्नुपर्ने वैज्ञानिकहरूको भनाइ छ । त्यसका लागि निकै ठूलो धनराशिको जरुरत छ । समयमै जोखिम कम नगरे त्यसले निम्त्याउने असर झनै विकराल हुने चेतावनी वैज्ञानिकले दिएका छन् ।

कसरी आयो बाढी ?

पर्यटकीय गाउँ नै बगाउने गरी बाढी कसरी आयो भनेर सबैको चासो र जिज्ञासा थियो । तत्कालीन रक्षामन्त्री मानवीर राईसहितको टोली थामे क्षेत्रमा पुग्यो अनि थाहा भयो, थामे क्षेत्रमा माथि रहेको दुई ओटा हिमपोखरी फुटेर आयो । खुम्बु क्षेत्रमा ०८१ साउन २५ गतेदेखि दैनिक औसत तापक्रम वृद्धि भएर ९ दशमलव ७ डिग्री सेल्सियसबाट ११ डिग्री सेल्सियस पुगेको थियो । साथै साउन ३१ गतेको अधिकतम तापक्रम १५ दशमलव ९ डिग्री सेल्सियसम्म पुगेको थियो । हिमतालको आकार बढ्दै गएको थियो । खुम्बु क्षेत्रको हिमतालबारे अध्ययनमा समेत संलग्न जलवायु परिवर्तनविज्ञका एक दशकअघिको अध्ययन अनुसार सगरमाथा क्षेत्रमा साना–ठूला गरी ६ सय २६ ओटा हिमताल थिए भने अहिले हिमतालको सङ्ख्या बढ्दो क्रममा रहेको पछिल्लो अध्ययनहरुले देखाएको छ ।

बस्ती बिचबाट थामे खोला सधै नै बगिरहन्थ्यो तर, ०८१ साउन ३२ गते मध्यान्हमा थामे खोलाले आकार परिवर्तन गर्दै सुन्दर बस्ती नै तहसनहस पार्यो । थामे खोलामा ०८१ साउन ३२ गतेको जस्तै बाढी ३९ वर्षअघि पनि आएको थियो । १९८५ अगष्ट ४ (०४२ साल साउन २० गते) डिग्चो क्षेत्रबाट आएको बाढीले थामे खोलाको जलविद्युत् आयोजना नै बगाएको थियो । त्यतिबेला ३० ओटा घर, १४ ओटा पुल बगाउनुका साथै धेरै खेतीयोग्य जमिन बगरमा परिणत भएको थियो ।

वरिष्ठ भूगर्भविद एवम् नेपाल सरकारका सिनियर डिभिजन इञ्जिनियर श्रीकमल द्विवेदी थामेमा ३९ वर्ष अघिको भन्दा ०८१ साउन ३२ गते आएको बाढी ठूलो भएको बताउँछन् । त्यो क्षेत्र नजिकमा रहेको स्याङ्गबोचे विमानस्थलमा साउन ३२ गते बाढी आउनु अघि १ सय ४८ मिलिमिटर जति वर्षा भएको मापन गरिएको थियो ।

‘जलवायु परिवर्तनको कारणले अहिले हिउँ पर्ने हिमाली भेगमा पानी पर्न थालेको छ । बरफ जमेर बसेको ठाउँमा माटो पनि कमलो हुदै ‘भीरमा जमेर रहेको बरफसहित माटोको ढिस्को वर्षाको कारणले समेत हिमपोखरी फुटने जोखिममा छन् ।

राष्ट्रिय चासो र चिन्ताको खाँचो

हिमाली क्षेत्रमा हुने बाढी र पहिरोका घटना भविष्यमा पनि हुनसक्ने भएकाले सरकारले रोकथामको उपाय अपनाउनुपर्नेमा सरोकारवालाको जोड छ । विगतमा मनाङ, कागबेनी, मेलम्ची लगायतमा पनि अस्वाभाविक बाढी आउँदा ठूलो क्षति पुगेका घटना भएकाले प्राकृतिक विपदको क्षति नियन्त्रणका लागि सरकार गम्भीर हुनुपर्ने भुर्गभविदहरुको जोड छ । थामेमा आएको बाढीबारे अनुसन्धान गर्न सांसदहरूले माग गरेका छन् ।

०८१ भदौ २ गते राष्ट्रिय सभामा आकस्मिक, शून्य समय र विशेष समयमा बोल्दै सांसदहरूले थामे बाढीको कारण अनुसन्धान गर्न सरकारसँग माग गरे । नेकपा एकीकृत समाजवादीकी सांसद जयन्तीदेवी राईले जलवायु परिवर्तनका कारण हिमताल फुटेको र थामेमा बाढी आएको मौसमविद्हरूले बताएको उल्लेख गर्दै यसप्रति सरकारलाई सतर्क हुन आग्रह गर्नुभयो । नेपालमा जलवायु परिवर्तनको असरका सम्बन्धमा अनुसन्धान गरेर अन्तर्राष्ट्रिय स्तरमा दरिलो गरी प्रस्तुत हुनुपर्नेमा सांसद राईको माग छ । थामेमाथि पाँच ओटा हिमताल रहेको र त्यसमध्ये दुई ओटा फुटेको र थप दुई ओटा जोखिममा रहेको बताइएको छ ।

नेकपा एमालेकी सांसद इन्दिरादेवी गौतमले ‘हिमाल जोगाऔं’ अभियान चलाउन सरकारलाई आग्रह गर्नुभएको छ । नेकपा माओवादी केन्द्रका सांसद गोपीबहादुर सार्की अछामीले सोलुखुम्बुसहित हिमताल फुटेर हुन सक्ने सम्भावित क्षेत्रको बस्ती स्थानान्तरणका लागि सरकारले तत्काल पहल लिनुपर्ने औँल्याउनु हुन्छ ।

साना हिमतालबाट, नसोचिएको विपद्’

भूगर्भशास्त्री वसन्तराज अधिकारी पछिल्लो केही समय त्यस क्षेत्रको तापक्रम बढेको अवस्थामा त्यहाँ हिउँ पग्लिएर तालमा पानीको मात्रा बढेको र त्यही बेला पानी समेत परेपछि तालले थाम्न नसकेर त्यसलाई घेरेर राख्ने गेग्रान सक्रिय भएर बाढी आएको देखिएको बताउँछन्। “यस घटनालाई जलवायु परिवर्तनको असरका रूपमा हेर्न सकिने प्रशस्त बलिया आधार भएको अधिकारीको भनाइ छ । हिमालय पर्वत शृङ्खलामा जलवायु परिवर्तनको असर निकै उच्च स्वरूपमा देखिन थालेको एउटा महत्वपूर्ण घटनाका रूपमा खुम्बु हिऊँ पहिरोलाई लिनुपर्ने भूगर्भशास्त्री अधिकारीको मतको छ ।

दुवै विपद् दिऊँसै

काठमाण्डौँ विश्वविद्यालयको वातावरणीय विज्ञान तथा इन्जिनियरिङ विभाग प्रमुख डा. रिजनभक्त कायस्थले सन् १९८५ मा हिमताल विस्फोटन भएको दिन मौसम सफा रहँदा रहँदै पनि दिऊँसो अचानक बाढी आएको उल्लेख गरेका छन् । त्यसपछि दुधकोशी र सुनकोशी नदीमा ठूलो बाढी निम्तिएको इन्टरन्याश्नल माउन्टेन सोसाइटीमा सन् १९८६ मा प्रकाशित एक शोध आलेख ’द लाङमोचे फ्ल्यास फ्लड, खुम्बु हिमाल, नेपाल’मा उल्लेख छ । उक्त आलेखमा त्यसबेला ताल विस्फोट हुनुभन्दा अघिल्लो महिना ’जुलाईमा लामो समय न्यानो र सफा मौसम’ देखिएको उल्लेख गरिएको छ ।

हिमताल अध्ययनको महत्वपूर्ण मोड

काठमाण्डौँ विश्वविद्यालयका हिमताल विज्ञ डा. रिजनभक्त कायस्थले दिग्च्छो तालको घटनापछि नेपालमा वैज्ञानिकहरूले हिमताल अध्ययनको आवश्यकता महसुस गरिएको बताउँछन् । त्यसपछि सुरुमा क्यानडाको सरकारले यससम्बन्धी अध्ययनका लागि तत्कालीन जल तथा शक्ति आयोगले बहावको स्तर र क्षतिबारे अध्ययन गरेको थियो । त्यसपछि तत्कालीन जर्मन सहायता नियोग जीटीजेडको सहयोगमा नेपालको उच्च भूभागको जलवायु तथा हिमपात अध्ययनका लागि झन्डै एक दशकको अवधिमा मकालुदेखि हुम्लासम्मको क्षेत्रमा छवटा उच्च भेगका जलवायु मापन केन्द्र स्थापनाको काम भएको थियो । झन्डै चार दशकअघि तालभन्दा ११ किलोमिटर तल्लो भूभागमा अवस्थित नाम्चे लघु जलविद्युत् परियोजना बगाएको सो घटनाका तुलनामा अहिलेको विपद्लाई विज्ञहरू ’केही सानो’ भएको टिप्पणी गर्छन् ।

’ह्याङ्गिङ ग्लेसिअर’को धराप

दिग्च्छो ताललाई नेपालमा विवरण राखिएको पहिलो हिमताल विस्फोटनका घटनाका रूपमा हेरिएको छ । चार दशकको अन्तरालमा भएका दुवै अनपेक्षित घटनामा ’ह्याङ्गिङ ग्लेसिअर’को पक्षलाई ध्यानपूर्वक हेर्नुपर्ने देखिएको जलविज्ञानविज्ञ ओमरत्न बज्राचार्य बताउँछन्। “पहाडको भिरालो भागमा झुन्डिएर बस्ने त्यस्ता ग्लेसिअर च्छो रोल्पा हिमताल छेउमा पनि छ । त्यस्तो ठाउँमा ह्याङ्गिङ ग्लेसिअर फुट्दा जहिल्यै हिमताल फुट्नसक्ने त्रास रहन्छ। त्यसैले त्यसलाई जोखिमको आधार मानेर साना हिमताललाई समेत अब उत्तिकै ध्यान दिनुपर्ने समय आएको देखिन्छ ।” दिग्च्छो हिमताल बिस्फोटनपछि पनि स्रोतमै पुगेर भन्दा पनि त्यसको असरलाई आधार मानेर अध्ययनहरू भएको त्रिभुवन विश्वविद्यालयको इञ्जिनियरिङ अध्ययन संस्थान पूल्चोकमा विपद् अध्ययन केन्द्र प्रमुख रहेका वसन्तराज अधिकारी बताउँछन् ।

“तर पनि सामान्य रूपमै बुझ्न सकिने कुरा भनेको लेकमा पानी बढ्नका लागि कि वर्षा हुनुपर्छ या त हिउँ पग्लिनुपर्छ। हिमताल विस्फोटनका लागि प्रमुख कारण हिउँ पग्लिनुपर्छ जुन जलवायु परिवर्तनका कारण हुने हो भनेर यस पटकको सिधा सम्बन्ध जलवायु परिवर्तनसँग जोडिएको हो,” उनी भन्छन्।

“सामान्यतः त्यस भेगमा कि त हिउँ पग्लिएरै वा पहिरोले तालमा छाल निकालेर विस्फोट हुने गर्छ । पहिरोका कारण हुने विस्फोटनलाई जलवायु परिवर्तनकै असर भनिहाल्न मिल्दैन।” यस पटक फुटेको थामेमाथिकाजस्ता तालहरू नेपालमा मात्र हजारौँका सङ्ख्यामा रहेको विज्ञहरू बताउँछन्। हिमालयका धेरै उपत्यकाहरू हिमताल विस्फोटन, पहिरोजस्ता घटनाबाट बनेका छन्।

थामे पुनर्निर्माणको मागपत्र, प्रधानमन्त्रीलाई
सोलुखुम्बुका सरोकारवालाले थामे गाउँ पुनर्निर्माणको मागपत्र प्रधानमन्त्री केपी ओलीलाई बुझाएका छन । सोलुखुम्बुका प्रतिनिधिसभा सदस्यसमेत रहेका रक्षामन्त्री मानवीर राईको नेतृत्वमा जिल्लाका प्रदेश सभा सदस्य, गाउँपालिका अध्यक्षसहितका स्थानीय तहका जनप्रतिनिधि र पार्टी प्रतिनिधिले प्रधानमन्त्रीलाई थामे बजार पुनर्निर्माणको योजनासहित मागपत्र बुझाएका हुन् । प्रधानमन्त्रीसँग तत्कालका लागि राहत र दीर्घकालीन रूपमा बसोवासका लागि बस्ती विकासको योजना माग गरिएको खुम्बु पासाङल्हामु गाउँपालिका अध्यक्ष मिङमा छिरी शेर्पाले बताए । स्थानीय तहको स्रोतले मात्रै थामे बाढी प्रभावितको व्यवस्थापन र पुनर्निर्माण सम्भव नभएकाले संघ र प्रदेश सरकारसँग अपिल गरिएको अध्यक्ष शेर्पाको भनाइ छ ।

के होला ? खुम्बु क्षेत्रको पर्यटन
पर्यटकीय सिजन शुरू हुनुअघि ताल विस्फोटबाट बाढीले सोलुखुम्बु क्षेत्रमा पु¥याएको क्षतिले त्यस क्षेत्रको पर्यटनमा गम्भीर क्षति पुग्ने अनुभवी पर्यटन व्यवसायीहरू बताउँछन् । बाढीले गर्दा सगरमाथा क्षेत्रको पर्यटन व्यवसाय नै प्रभावित हुने पर्यटन व्यवसायीले व्यक्त गरेका छन् । “जलवायुको परिवर्तनले हिमाली क्षेत्रको पर्यटनमा निकै असर पु¥याउने देखिन्छ । हिमाल चढ्न जानेहरूको जीवन जोखिममा परिराखेको छ । चट्टान खस्ने, हिउँ खस्ने, बसेको ठाउँ खस्ने घटनाहरू भइरहेका छन्,” नाम्चेका पर्यटन व्यवसायी लामीकाजी शेर्पा भन्नुहुन्छ, “अहिलेको बाढीले नै यो सिजन प्रभावित हुने देखियो। धेरै ठाउँमा बाटो बगाएको छ । थामेमा त बस्ने ठाउँ नै छैन।” लुक्लाका पर्यटन व्यवसायी नाम्गेल शेर्पा अहिले बाढी पसेको गाउँ बसोबासका लागि आकर्षक रहेको बताउँछन्।

“अहिले थामे गाउँ तत्काल बनाउन सम्भव छैन। त्यसले त्यहाँको पर्यटनमा असर गर्छ,” “सामान पनि लैजान कठिन छ । पर्यटकहरूलाई राम्रो बस्ने ठाउँ नहुँदा त्यसले असर गर्ने भयो। निर्माण सामग्री र खाद्यसामग्री ढुवानीका लागि बाटोको पहुँच चाहियो। अहिले त बाटोको पहुँच नै छैन। सल्लेरीबाट त्यहाँ जाने बाटो कतिपय ठाउँमा बाढीले बगाएको छ ।” खुम्बु क्षेत्रको आम्दानीको मुख्य स्रोत नै पर्यटन हो। तर त्यही पर्यटन व्यवसाय प्रभावित भएपछि मानिसहरूको जीविकोपार्जनमै असर पुग्ने उनीहरुको चिन्ता छ ।

सयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसको त्यो खुम्बु भ्रमण

२०८० कातिक १३ गते सयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस जलवायु परिवर्तनले हिमाली क्षेत्रमा पारेको असरका विषयमा बुझन खुम्बु क्षेत्र आइपुग्नुभएको थियो । उहाँले खुम्बु पासाङ ल्हामु गाउँपालिकाबाट सम्बोधन गर्दै हिमालमा जलवायु परिवर्तनले पारेको असरबारे विश्वको ध्यानाकर्षण गराउने प्रतिबद्धता व्यक्त गरेको एक वर्ष बित्न नपाउदै ठूलो विपत्तिको सामना गर्नुपर्यो । स्थानीय समुदायसँग जलवायु परिवर्तन र यसले स्थानीयको जनजीवनमा पारेको विषयका सम्बन्धमा अन्तरक्रिया गर्नुभएको थियो ।

सो अवसरमा महासचिव गुटेरेसले जलवायु परिवर्तनसम्बन्धी सम्मेलन (कोप–२८) मा स्थानीयका सुझावसहित जलवायुले हिमालमा परेको असरबारे ध्यानाकर्षण गराउने उल्लेख गर्नुभएको थियो । उहाँले विश्वको प्रदूषण वृद्धिमा धनी देशको भूमिका रहेको तर खुम्बु पासाङल्हामु गाउँपालिकाजस्ता दुर्गम स्थानमा नकारात्मक असर पर्नु दुःखद् भएको उहाँको तर्फ थियो ।

महासचिव गुटेरेसले जलवायु परिवर्तनबाट उत्पान्न हुने समस्या कम गर्नका लागि के गर्न सकिन्छ भनेर पहल गर्ने र उक्त सन्देश विश्वभरि लैजाने प्रतिबद्धता व्यक्त गरेका थिए। भेटमा स्थानीय समुदायले हिमनदी पग्लिनेक्रम बढेको, जलवायुजन्य हानीनोक्सानी बढेको, पानीका स्रोत सुक्दै गएको, स्थानीय बालीनालीमा जलवायुको असर परेको, नाङ्गा हिमालमा पानी पर्दा पहिरो जाने समस्या बढेको जस्ता विषय महासचिव गुटेरेसलाई अवगत गराएका थिए ।

जलवायु परिवर्तनका चुनौती सम्बोधन गर्न स्थानीय सरकारको भूमिका

नेपालमा जलवायु परिवर्तनका कारण हुने प्रभावहरूमा धेरै औपचारिक रुपमा देखिने आर्थिक हानी नोक्शानीको मात्र बहस हुन्छ । तर यस भन्दा ठूलो हानी नोक्सानी गैरआर्थिक क्षेत्रमा परिरहेको छ । यसपालिको सम्मेलनमा जलवायु परिर्वतनले गैरआर्थिक क्षेत्रमा परेका हानी नोक्शानी बारेको विषय प्रवेश भएपनि पर्याप्त छलफल हुन सकेन । यी हानि नोक्शानीहरूले मानव जीवनको स्वास्थ्य, सांस्कृतिक सम्पदा, आदिवासी ज्ञान, समुदायको परंपरामा क्षति गरिरहेको छ । सामुदायिक स्तरमा जलवायु परिवर्तनले निम्त्याएका बहुआयामिक चुनौतिहरूलाई सम्बोधन गर्न स्थानीय सरकारहरूको भुमिका निर्णायक हुन्छ । तिनीहरूको क्षमता अभिवृद्धि गर्न, न्युनिकरण र अनुकुलन रणनीतिहरूमा ध्यान केन्द्रित गर्दै एकीकृत कार्यक्रम बनाइ लागू गर्नुपर्छ । स्थानीय सरकारले सञ्चालन गर्ने पूर्वसूचना तथा चेतावनी प्रणाली दिगो रुपमा काम गर्नसक्छ । यसले स्थानीय सरकारहरूलाई सम्भावित खतराहरू तुरुन्तै पहिचान गर्न सक्षम बनाउँछ र समुदायहरूमा प्रभाव कम गर्न समयमै प्रभावकारी काम गर्न सहयोग गर्छ ।

सम्पन्न भएको जलवायु सम्मेलनमा पूर्वसूचना तथा चेतावनी प्रणाली बारे सामान्य छलफल भएपनि यसमा कसले के गर्ने स्थानीय सरकारहरुको भुमिकालाई कसरी प्रभावकारी बनाउने र आफैँ पूर्वसूचना तथा चेतावनी प्रणालीको विकास गर्न नसक्ने देशलाई कसरी सहयोग गर्ने बारेमा छलफल हुन सकेन । जलवायुजन्य विपदको जोखिम कम गर्ने र क्षति घटाउन स्थानीय समुदायहरूलाई निर्णय प्रक्रियामा समावेश गर्न आवश्यक छ । विशेष गरी कृषिमा अनुकूलन र दिगोपनको सन्दर्भमा, स्थानीय सरकारले नै महत्वपूर्ण भुमिका खेल्छन् ।
आदिवासी जनजातिसँग रहेको ज्ञानको प्रयोग गर्न र जलवायु सम्बन्धी नीतिहरूको सान्दर्भिकता र प्रभावकारिता बढाउन स्थानीय सरकारले प्रभावकारी काम गर्न सक्छन् । स्थानीय सरकार सक्रिय हँुदा सहभागितामुलक दृष्टिकोणले अल्पसंख्यक अधिकारको संरक्षण मात्र सुनिश्चित हुने र तिनीहरुलाई अपनत्व र जिम्मेवारीको भावनालाई पनि बढाउँछ । प्रत्येक समुदायको विशिष्ट आवश्यकता र अनुभवहरू अनुरूप अनुकुलन योजनाहरू मिलाएर स्थानीय सरकारहरूले कमजोर समुदायलाई प्रभावकारी रूपमा सम्बोधन गर्न सक्छन् । जलवायु परिवर्तनलाई न्युनिकरण गर्न र अनुकूलनको कार्यक्रम बनाउँदा स्थानीय सरकारको क्षमता अभिबृद्धि हुने कार्यक्रम पनि बनाउन आवश्यक छ ।

अञ्जु कार्की

अन्य

भिडियो