INSEC Online

📅 २०८३ जेष्ठ २१

मानव अधिकार सहायता कक्षको बैठक सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा ०८२ माघ ७ गते इन्सेक कर्णाली प्रदेशका संयोजक नारायण सुवेदीको अध्यक्षतामा मानव अधिकार सहायता कक्षको बैठक सम्पन्न गरिएको छ ।

बैठकमा पीडितका निवेदन, बधाई तथा शुभकामना, सदस्य परिवर्तन लगायतका प्रस्तावमाथि छलफल गरिएको थियो । मानव अधिकार सहायता कक्षमा प्राप्त सात ओटा निवेदनमध्ये पाँच ओटा निवेदनमा निर्णय गरिएको छ ।

निर्णयअनुसार लेकवेशी नगरपालिका–१, रातामाटेका हरिनारायण कार्कीलाई नवज्योति केन्द्र सुर्खेतले सहयोग गर्ने निर्णय गरिएको छ । त्यस्तै, रुकुमपश्चिम त्रिवेणी नगरपालिका–६ घर भई हाल वीरेन्द्रनगर नगरपालिका–४, कालागाउँ बस्दै आएकी ३८ वर्षीया रमा पुनलाई कानुनी प्रक्रियामा जानका लागि इन्सेकले ५ हजार रुपियाँ र दलित महिला संघ (फेडो)ले ५ हजार रुपियाँ गरी कुल १० हजार रुपैयाँ सहयोग गर्ने तथा थप आवश्यक सहयोगका लागि वीरेन्द्रनगर नगरपालिकामा सिफारिस गर्ने निर्णय गरिएको छ ।

यसैगरी, भेरीगंगा नगरपालिका–१०, तालवारी घर भई हाल मावली घरमा बस्दै आएका १९ वर्षीया दीपेश नकाललाई इन्सेकले पाँच हजार रुपियाँ र आवाज संस्थाले तीन हजार रुपियाँ गरी ८ हजार रुपियाँ सहयोग गर्ने निर्णय गरिएको छ । भेरीगंगा नगरपालिका रामघाटकी ३२ वर्षीया सुष्मा बिकको हत्या भनिएको सम्बन्धी घटनाका विषयमा थप बुझी कानुनी प्रक्रियामा जान आवश्यक सहयोगका लागि भेरीगंगा नगरपालिकामा सिफारिस गर्ने निर्णय गरिएको छ ।

बैठकले उपसचिव पदमा बढुवा भएका राष्ट्रिय मानव अधिकार आयोग कर्णाली प्रदेश कार्यालय सुर्खेतका निमित्त कार्यालय प्रमुख मानवबहादुर कार्की र राष्ट्रिय अपाङ्ग महासंघ कर्णाली प्रदेशका नवनिर्वाचित अध्यक्ष नन्दराज धिताललाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ । साथै, नवनिर्वाचित अध्यक्ष धिताललाई मानव अधिकार सहायता कक्षको समितिमा समावेश गर्ने निर्णय गरिएको छ ।

बैठकमा राष्ट्रिय मानव अधिकार आयोग कर्णाली प्रदेश कार्यालय, उच्चवार एसोसिएसन सुर्खेत, फेडो, आवाज, राष्ट्रिय अपाङ्ग महासंघ कर्णाली प्रदेश, ओसिएमसी, नवज्योति केन्द्र सुर्खेत तथा वीरेन्द्रनगर नगरपालिकाको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

कर्णाली प्रदेश कार्यालय

अन्य

भिडियो