इन्सेकको पहलमा खानीगाँउ मावि र कालिका आधारभूत विद्यालयमा अध्ययनरत सात जना बालबालिका र अपाङ्गता भएका कारण विद्यालय जान नसकी घरमै रहेका दुई जना बालबालिका गरी नौ जना बालबालिकालाई माघ २३ गते आर्थिक सहयोग उपलब्ध गराइएको छ ।
इन्सेक जिल्ला प्रतिनिधि यज्ञमुर्ति तिमल्सिनाको पहलमा इन्सेकद्वारा सञ्चालित इएलपी परियोजना सञ्चालित विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई उक्त सहयोग गरिएको हो ।
घरको आर्थिक अवस्था कमजोर भएकै कारण विद्यालय आउँदा जाडोमा ज्याकेट र जुत्ता समेत लगाउन नसक्ने विपन्न परिवारका जेहेन्दार विद्यार्थीहरूलाई जाडोमा न्यानो कपडा किन्नका लागि रकम उपलब्ध गराइएको हो ।
रम्भा गाउँपालिका–१ हुँंगी घर भई १८ वर्षदेखि रोजगारीको सिलसिलामा कतारमा रहेका इश्वर काफ्लेले कतार एसिएन फुटवलको विजेता भएको खुशीमा इन्सेक प्रतिनिधिमार्फत २३ हजार रुपिँया उपलब्ध गराएका थिए ।
उक्त रकम खानीगाउँ माविमा अध्ययनरत पाँच जना विद्यार्थीलाई प्रति विद्यार्थी २ हजार रुपियाँका दरले १० हजार, अपाङ्गता भएकै कारण विद्यालय जान नसकेका बगनासकाली गाउँपालिका–८ बराङ्दी पाडे गाउ“का १४ वर्षीय दामोदर पाण्डे र उनका ११ वर्षीय भाइ ऋषिराम पाण्डेलाई ३ हजार ५ सयका दरले ७ हजार र कालिका आधारभूत विद्यालयका दुई जना विद्यार्थीलाई प्रति विद्यार्थी २ हजार ५ सयका दरले ५ हजार र खानीगाउँकी–१ जेष्ठ नागरिकलाई १ हजार रुपिँया इन्सेक पाल्पा जिल्ला प्रतिनिधि यज्ञमूर्ति तिमल्सिनाले हस्तान्तरण गरेका थिए ।
इन्सेक प्रतिनिधि यज्ञमूर्ति तिमिल्सिना र पत्रकार दयाराज न्यौपानेले विद्यालयमा रहेका बालबालिकाका लागि विद्यालयमै पुगेर र समुदायमा रहेका बालबालिकालाई उनीहरूको घरमै पुगेर रकम हस्तान्तरण गरेका थिए ।
खानीगाउँ माविका प्रधानाध्यापक कल्पनाकुमारी भुसाल, कालिका आधारभूत विद्यालयका प्रधानाध्यापक जीवराज घिमिरेले यसप्रकारको सहयोगका लागि धन्यवाद ज्ञापन गरेका थिए ।

