नेपाल मानव अधिकार वर्ष पुस्तक २०२६ का लागि सङ्कलन गरिएका मानव अधिकारसँग सम्बन्धित घटनाहरूको प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम ०८२ पुस २ गते सम्पन्न भएको छ ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागलुङको आयोजनामा जिल्ला प्रशासन कार्यालय बागलुङमा आयोजित कार्यक्रममा इन्सेक प्रतिनिधि अमृतप्रसाद पौडेलले सन् २०२५ जनवरी १ देखि डिसेम्बर १५ सम्म जिल्लामा संकलन गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतिका २० वटा घटनाको विवरण प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले शिक्षा पाउने अधिकार सुनिश्चित गर्न शिक्षकको क्षमतामा पनि ध्यान दिन आवश्यक रहेको बताउदै सामुदायिक विद्यालयमा छात्रावास सञ्चालनको तयारी मानव अधिकारमैत्री पहल भएको बताउनु भयो । साथै लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियान सञ्चालन गरिएको जानकारी दिँदै खड्काले महिला र बालिकाको सुरक्षा तथा न्याय पाउने अधिकार सुनिश्चित गर्न न्यायिक समितिमार्फत उजुरीमाथि कानुनी प्रक्रिया अघि बढाइएको बताउनु भयो ।

जिल्ला प्रशासन कार्यालय बागलुङका प्रमुख जिल्ला अधिकारी कुमान सिंह गुरुङले मानव अधिकार संरक्षण राज्यका सबै निकायको साझा दायित्व भएको बताउनुका साथै गुरुङले इन्सेकको अर्धवार्षिक समिक्षाको क्रममा आत्महत्याको संख्या बढ्दो देखिए पछि प्रहरी तथा स्थानीय निकायले पनि आत्महत्या रोकथामका लागि जोड दिएको जानकारी दिनुभयो भयो ।
जिल्ला प्रहरी कार्यालय बागलुङका एसपी तिलक भारतीले जिल्लामा नागरिकको पक्षमा प्रहरीले निरन्तर काम गरेको र कोही पनि नागरिकले आफू न्यायबाट बञ्चित हुन परेको अनुभव बताउनु भयो ।
जिल्ला कारागार जेलर धीरेन्द्रराज पन्तले १ सय ४९ पुरुष, १५ महिला र एक नाबालक गरी १ सय ६५ जना कैदीबन्दीहरु कारागारमा रहेको बताउनु भयो । उहाँका अनुसार सबै भन्दा धेरै बलात्कारजन्य प्रकृतिका मध्ये बलात्कारका ५१, बलात्कार प्रयास पाँच, हाडनातामा बलात्कार आठ र अप्राकृतिक मैथुन दुई गरी कुल ६६ जना रहेका छन् । त्यस्तै हत्या अन्तरगत कर्तव्य ज्यानका ६१ र ज्यान मार्ने उद्योगका तीन जना कैदी बन्दी कारागारमा रहेका र ७० वर्ष भन्दा माथि उमेर समूहका २ जनाले कारागारमा कैद भुक्तान गर्दै रहेको जानकारी दिनुभयो भयो ।
जैमिनी नगरपालिका उपप्रमुख हरिहर शर्माले अहिले सामाजिक सञ्जालले गर्दा मानव अधिकार उल्लङ्घन बढी भएको बताउँदै इन्सेक जस्ता निकायले आफ्नो प्रतिवेदनमा यस्ता विषयलाई जोडदार तबरले उठाउनु पर्ने बताउनुभयो ।
कार्यक्रममा सशस्त्र प्रहरीका डिएसपी सुरज खड्का, जिल्ला निर्वाचन कार्यालय प्रमुख यज्ञप्रसाद रिजाल, अनुसन्धान अधिकृत रुपेश शर्मा, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका प्रमुख सुमन लामिछानेल लगायत नेपाल पत्रकार महासंघ, स्थानीय तह तथा नागरिक समाजको उपस्थिती रहेको थियो ।