INSEC Online

📅 २०८३ जेष्ठ २१

मानव अधिकार, निर्वाचन र सुशासन विषयक अन्तरपुस्ता संवाद कार्यक्रम सम्पन्न

७७ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवस तथा १७ औं राष्ट्रिय मानव अधिकार महाभेला–२०८२ को अवसरमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कोशी प्रदेश कार्यालय लगायत विभिन्न संघसंस्थाको आयोजनामा मंसिर २४ गते विराटनगरमा ‘मानव अधिकार, निर्वाचन र सुशासन विषयक अन्तरपुस्ता संवाद’ कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख उषा झाले परिवर्तनहरु स्विकार्नुको विकल्प नभएको बताउनु भयो । देशको वर्तमान परिस्थितिलाई सामान्यीकरण गर्दै लैजान नागरिक समाज, युवा पुस्ताका अभियन्तालगायत सबै वर्गको उत्तिकै भूमिका रहनुपर्ने उहाँले बताउनु भयो ।

मानव अधिकारका लागि महिला एकल महिला समूह मोरङकी अध्यक्ष चुडा भट्टराई रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग कोशी प्रदेश प्रमुख वीरबहादुर बुढा मगरले कोशी प्रदेशमा मानव अधिकारको अवस्था, आयोगको प्राथमिकता र निर्वाचन संवेदनशिलता बारे अवधारणापत्र प्रस्तुत गर्नुभयो । मानव अधिकार सञ्जाल विराटनगरका संयोजक वासु अधिकारीले मानव अधिकार र स्वतन्त्र निर्वाचन बारे अवधारणापत्र प्रस्तुत गर्नुभएको थियो ।

जेनजी अगुवा प्रवेश दाहाल, गैसस महासंघ मोरङकी अध्यक्ष विष्णु शर्मालगायतका वक्ताहरुले सुशासन भएमात्रै देशमा मानव अधिकार स्थापित हुने धारणा राख्नु भयो । जेनजी आन्दोलनपछि मुलुक आर्थिक, सामाजिक र राजनैतिक रुपमा रुपान्तरणको बाटोमा अगाडि बढेको बताउँदै वक्ताहरुले परिवर्तनलाई आत्मसात गरेर देशमा आर्थिक समृद्धि र सुशासन कायम गर्नुपर्नेमा जोड दिए ।

 

कोशी प्रदेश कार्यालय

अन्य

भिडियो