७७ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा राष्ट्रिय मानव अधिकार आयोग बागमती प्रदेश कार्यालय हेटौँडा, गैरसरकारी संस्था महासंघ बागमती प्रदेश, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) वागमती प्रदेश कार्यालय, मानव अधिकार महाभेलाको संयुक्त आयोजना तथा महिला मानव अधिकार संरक्षण तथा मानव बेचबिखन विरुद्धको संजाल मकवानपुर र मानव अधिकार रक्षक संजाल वागमती प्रदेशको सहकार्यमा वागमती प्रदेशको मानव अधिकारको अवस्था र सरोकारवालाको भुमिका विषयक अन्तरक्रिया कार्यक्रम मंसिर २४ गते हेटौंडामा सम्पन्न भयो ।
कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेश सभाका उपसभामुख अपसरा चापागाईंले मानव अधिकारको संरक्षण र सम्वद्र्धनका लागि सबैको साझा प्रतिवद्धता आवस्यक रहेको बताउनु भयो । उहाँले मानव अधिकार जस्तो संवेदनशील विषयमा राज्यले अझै प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको उल्लेख गर्दै, “मानव अधिकार केवल बोल्न सक्नेको मात्र अधिकार हो कि जस्तो बुझिने प्रवृत्ति अब अन्त्य हुनुपर्छ,” मानव अधिकारको प्रत्याभुतीका लागि राज्य नै बढि जिम्मेवार र जवाफदेहि बन्नुपर्छ भन्दै सरकार र सम्बद्ध निकायलाई जिम्मेवारी पूरा गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा स्वागत तथा उद्देश्य माथी प्रकाश पार्दै इन्सेक बागमती प्रदेश संयोजक शिव प्रसाद खकुरेलले हरेक वर्ष १० डिसेम्वरलाई मानव अधिकारको विश्वव्यापी घोषणापत्र जारी भएको दिनको रुपमा स्मरण गर्न, मानव अधिकार सम्बन्धी सचेतना अभिवृद्धी गर्न, वर्षभरी मानव अधिकारका लागि गरिएका कामको समिक्षा गर्न र मानव अधिकार प्रति राज्यलाई जिम्मेवार र जवाफदेही वनाउन यो दिनलाई मानव अधिकार महाभेलाका रुपमा महत्वपूर्ण उत्सवको दिनको रुपमा मनाउदै आइरहेको जानकारी गराउनु भयो । इन्सेकले गरेको अनुगमनवाट मुलुकमा हरेक वर्ष महिला माथि हुने हिंसाका घटनाहरु बृद्धी भैरहेको,जातिय विभेद,अपांगता भएका व्यक्तिहरुका अधिकारको प्रभावकारी उपभोग हुन नसकेको, ज्येष्ठ नागरिकहरुले अहिले पनि हेला दुव्र्यवहार सहनु परेको, यौनिक तथा लैंगिक अल्पसंख्यकहरुका अधिकार पनि प्रभावकारी रुपमा कार्यान्वयन हुन नसकिरहेको, कारागारमा कैदि बन्दीहरुका अधिकारप्रति राज्य संवेदनशील नभएको अवस्था औंंल्याउदै जलवायु परिवर्तनका कारण मानव अधिकारमा परेका असरहरु र यसले मानव सभ्यतामा पार्नसक्ने असरहरुका वारेमा पनि जानकारी गराउनु भएको थियो ।

राष्ट्रिय मानव अधिकार आयोग बागमती प्रदेश प्रमुख चन्द्रकान्त चापागाईंले मानव अधिकार सबैको लागि अपरिहार्य र अनिवार्य रहेको कुरा व्यक्त गर्दै मानव अधिकार आयोगमा मानव अधिकार उल्लङ्घनका घटनाहरुको उजुरी कमै मात्रै आउने गरेको जानकारी गराउनु भयो । मानव अधिकार आयोगले मुलुकमा मानव अधिकारको अवस्थाको निरन्तर अनुगमन गर्दै राज्यलाई खवरदारी पनि गराउदै आएको विषयमा जानकारी गराउनु भयो।
कार्यक्रममा आफनो शुभकामना मन्तव्य राख्दै वागमती प्रदेश सरकारका प्रमुख सचिव बाबुराम अधिकारीले मानव अधिकारको संरक्षण तथा संवद्र्धनका लागि वागमती प्रदेश सरकार संवेदनशिल रहेको वताउदै मानव अधिकार प्रवद्र्धनका लागि कार्यक्रम तथा वजेटको समेत व्यवस्था गरिएको जानकारी दिनुभयो ।

मकवानपुर जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले मानव अधिकारको हनन हुन नदिन प्रशासन कटिवद्ध रहेको छ । आगामी फागुन २१ गते हुने निर्वाचन शान्तिपुर्ण,भयरहित र निष्पक्ष बनाउन आवस्यक शान्ति सुरक्षाको तयारी गरिएको जानकारी दिनुभयो ।

गैसस महासंघ बागमती प्रदेश अध्यक्ष कमल कुमार विश्वकर्माले मानव अधिकार र आम निर्वाचन विषयक पृष्ठभूमि, नागरिक समाजको भूमिका तथा सुशासनमा गैरसरकारी संस्थाको योगदानबारे प्रस्तुतीकरण गर्नुभएको थियो ।
त्यस्तै मानव अधिकार आयोग बागमती प्रदेशका अधिकृत रविना घिमिरेले प्रदेशको मानव अधिकार अवस्थाबारे प्रस्तुत गर्दै शिक्षा क्षेत्रमा विभिन्न बहानामा विद्यालयहरूले अवैध शुल्क उठाउने गरेको, स्वास्थ्य, महिला, दलित तथा जेष्ठ नागरिक अधिकारमा चुनौती देखा पर्दै गएकाले यसलाई न्युनीकरण गर्न प्रदेश सरकार र स्थानीय तहको जिम्मेवारी र सामाजिक संघ–संस्थाको भूमिकाबारे जानकारी दिनुभयो । आयोगमा २०८०÷८१ मा ५२५ र २०८१÷८२ को साउन मसान्तसम्म ५ सय १३ उजुरी दर्ता भएको तथ्यांक प्रस्तुत गर्नु भएको थियो ।
कार्यक्रममा सहभागी जेनजी पुस्ताका युवाहरूले सडक विस्तारका क्रममा भएका मानव अधिकार उल्लङ्घनमा आयोगको सक्रियता नदेखिएको गुनासो राखे । जेनजी आन्दोलनका क्रममा घाइते भएकाहरू अझै न्यायबाट वञ्चित रहेको उल्लेख गर्दै, युवा पुस्ताको पीडा प्रति आयोगले ध्यान दिनुपर्ने कुरामा मानव अधिकार आयोगको ध्यानाकर्षण गराए ।
सञ्चारकर्मी प्रति सामाजिक सञ्जालमार्फत भइरहेका अपमानजनक व्यवहारप्रति पत्रकार महासंघ मकवानपुरकी अध्यक्ष भावना रिजालले आयोगको ध्यानाकर्षण गराउनुभयो ।
मकवानपुर जेनजी आन्दोलन संयोजक सुगम नेगीले आन्दोलनमा घुसपैठ हुन गएका कारण आपराधिक गतिविधि बढेको र दोषीलाई कारबाही गर्न सरकारलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
