बालबालिकालाई पोस्टर टाँस्नेलगायतको काममा दुरूपयोग गरेको आरोपमा सप्तरी प्रहरीले राजविराज नपा–११ फर्सेठका २३ वर्षीय श्यामकुमार यादव, सोही ठाउँका १९ वर्षीय सरोजकुमार यादव, तिलाठी कोइलाडी गापा–२ का २८ वर्षीय सुशिल मण्डल र सप्तकोसी नपा–१० का १९ वर्षीय अविनाश पण्डितविरूद्ध माघ ६ गते उजुरी दर्ता गरेको छ ।
बालबालिका दरूपयोग गरेको आरोपमा सप्तरी प्रहरीले पहिलो पटक चार जनालाई गिरफ्तार गरी ‘बालबालिका दुरूपयोग कसुर’ मा उजुरी दर्ता गरी कारवाही थालेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
विद्यालय जाने उमेरका बालबालिकाहरूलाई उक्साई प्रलोभनमा पारी पोस्टर टाँस्ने लगायतको काममा सहभागी गराएको आरोपमा डा. सिके राउत नेतृत्वको स्वतन्त्र मधेस गठबन्धनका चार जनालाई राजविराज नपा–११ झल्ही पुल नजिकबाट माघ ५ गते गिरफ्तार गरी ‘बालबालिका ऐन २०७५’ अन्तर्गत कारवाही थालिएको एसपी राजेन्द्र विष्टले बताए ।
एसपी विष्टका अनुसार विद्यालय जाने उमेरका स–साना वालबालिकाहरूलाई पोस्टर टाँस्न लगाउँदै गरेको अवस्थामा पोस्टर र ‘फ्रि मधेस’ लेखिएको व्यानर समेत बरामद गरिएको छ । बालबालिकालाई भने प्रहरीले घर पठाएको छ ।