कोही कसैलाई पनि विचार र अभिव्यक्तिको कारणले मात्र गिरफ्तार गर्ने कार्यबाट मानव अधिकारको सम्मान र संरक्षण नहुने भएकाले त्यसतर्फ गम्भीर हुन नेपाल सरकारलाई निर्देशन दिएको राष्ट्रिय मानव अधिकार आयोगले जनाएको छ ।
आयोगले ०८२ मङ्सिर २ गते विज्ञप्ती जारी गरी अभियन्ता दुर्गा प्रसाईँलाई गिरफ्तार गरिएको घटनाको सम्बन्धमा राष्ट्रिय मानव अधिकार आयोगले अनुगमन गरेको जनाएको छ ।
आयोगको टोलीले जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाडौँ पुगी दुर्गा प्रसाईं र सम्बन्धित प्रहरी अधिकारीहरुसँग भेट गरी जानकारी लिएको विज्ञप्तीमा उल्लेख छ ।
प्रसाईंलाई ०८२ मङ्सिर ३ गते राती १२ बजेर ३० मिनेटमा निजको निवास सानो ठिमी, भक्तपुरबाट गिरफ्तार गरी जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा राखिएको पाइएको आयोगले जनाएको छ ।
प्रहरी प्रतिवेदनअनुसार सार्वजनिक शान्तिसुरक्षा विरुद्धको अनुसन्धानका लागि गिरफ्तार गरिएको भनी निजलाई गिरफ्तार तथा थुनुवा पूर्जी दिइएको र निजको स्वास्थ्य अवस्था सामान्य रहेको आयोगलाई जानकारी प्राप्त भएको विज्ञप्तीमा उल्लेख छ ।
बदलिँदो राजनीतिक परिस्थिति र चुनावको घोषणा समेत भैसकेको सन्दर्भमा देशमा शान्तिसुरक्षा र अमनचयन कायम राख्नु सरकारको प्रमुख प्राथमिकता हुने आयोगले जनाएको छ ।
शान्ति सुरक्षा कायम गर्ने विषय सरकार र सुरक्षा निकायको मात्र जिम्मेवारी नभई हरेक नागरिकको समेत भएको हुँदा शान्तिसुरक्षाको कार्यमा सहयोग गर्नु नागरिकको समेत कर्तव्य हुन जाने विज्ञप्तीमा जनाइएको छ ।
अतः देशको शान्ति सुरक्षामा असर पर्ने खालका अभिव्यक्ति र गतिविधि नगर्न आयोग राजनीतिक दल, अभियन्ता र आमनागरिकलाई आग्रह गरिएको आयोगका प्रवक्ता एवम् सहसचिव डाक्टर टीकाराम पोखरेलद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।