INSEC Online

📅 २०८३ जेष्ठ २१

अझै कारागार फर्किएनन् कैदी, टोल टोलमा गस्ती

व्यक्ति हत्या कसुरमा तुलसीपुर उपमहानगरपालिका–५ का २२ वर्षीय खिमबहादुर बिक दाङ जिल्ला अदालतबाट जन्मकैद तोकिएर तुलसीपुर कारागारमा सजाय काटिरहेका थिए । ०८२ भदौ २४ गते जनेजी आन्दोलन चर्कियो । त्यही मौकामा जेल तोडेर कैदीबन्दी भाग्ने क्रम सुरु भयो, त्यही मौकामा खिमबहादुर पनि निस्किए । कारागारबाट भागेर गाउँमा लुकेर बसेका खिमबहादुरले असोज ११ गते तुलसीपुर उपमहानगरपालिका–५ का ५३ वर्षीय गौतम सार्कीलाई धारिलो हतियार प्रहार गरे । आक्रमणमा परि घाइते भएका सार्कीलाई शरिरका विभिन्न भागमा सात ओटा टाँका लगाएर राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार गरियो । आक्रमण गरी भागेका खिमबहादुरलाई प्रहरीले असोज १८ गते दंगीशरणबाट गिरफ्तार गरी ज्यान मार्ने कसुरमा अर्को मुद्दा दर्ता गरी फेरी कारागार पठायो ।

खिमबहादुरजस्तै कारागारबाट भागेका कैदीबन्दी अहिले समाजमा लुकेर बसेका छन् । उनीहरु मध्ये केहीले दिनहुँजसो समाजमा पुनः अपराधको शृंखला बढाउन थालेपछि गाउँघरमा असुरक्षित महसुस भएको सर्वसाधारणको गुनासो छ । सबैले दोहो¥याएर अपराध त गर्लान् नगर्लान् तर उनीहरुको पूर्व कर्मले समाज त्रसित बनिरहेको नागरिक समाज दाङको भनाइ छ । दाङको तुलसीपुरबाटमात्रै जेनजी आन्दोलनका क्रममा २ सय ५३ कैदीबन्दी जेल तोडेर भागेका थिए । तीमध्ये १ सय ७५ जना कैदीबन्दी पुनः कारागार फर्किएका छन् । कतिपय आफै फर्किएर आएका छन् भने धेरैजसोलाई नेपाल प्रहरी, नेपाल आर्मीले गिरफ्तार गरेर कारागार पठाइसकेको छ । तर पनि तुलसीपुर कारागारबाट भागेकामध्ये ७८ जना कैदीबन्दी अझै फरार छन् । ७८ मध्ये दाङकामात्रै २१ जना छन् भने अरु आठ जना विदेशी सहित ५७ जना छिमेकी जिल्लाहरु रुकुम, रोल्पा, सल्यान, प्युठान, बाँके, बर्दियालगायतका रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

दाङ र आसपासका जिल्लाकामात्र नभई पछिल्लो राजनीतिक घटनाक्रमको मौका छोपेर कारागारबाट भागेका कैदी, बन्दीहरुले देशका अन्य भागमा हत्या, बलात्कारका घटनामा संलग्न भएको खबरले नागरिकमा झनै त्रास फैलिएको छ । कञ्चनपुर कारागारबाट भागेका दोधारा चाँदनी नगरपालिका–१ का ३५ वर्षीय दिपक सुनारले कारागारबाट भागेको भोलिपल्टै भदौ २५ गते ५० वर्षीया महिलामाथि बलात्कार प्रयास गरे । काभ्रेको पनौती नगरपालिका–१२ का सन्तबहादुर तामाङले नख्खु कारागारबाट भागेर असोज २ गते पत्नी ३० वर्षीया मनिषाको हत्या गरे । नख्खु कारागारबाटै भागेका आकाश मगरले असोज १३ गते मकवानपुर घर भइ हाल मनमैजु बस्दै आएका २५ वर्षीय सुरज तामाङलाई ठमेलमा हत्या गरे । यस्ता श्रृंखलावद्ध अपराधले कैदीबन्दीबाटै गाउँघर असुरक्षित भएको स्थानीयको गुनासो छ । यिनै भागेका कैदीबन्दीका गतिविधिले समाजमा सुरक्षा चुनौती बढाएको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी डिएसपी चक्रबहादुर शाहले बताउनुभयो ।

आन्दोलनका क्रममा ०८२ भदौ २४ र २५ गते देशभरिका २८ ओटा कारागार र नौ ओटा बालसुधार गृहबाट १४ हजार ५ सय ४९ जना कैदी बन्दी भागेका थिए । ती मध्ये आधा बढी कारागारमा फकाईए पनि ठूलो अपराधिक संख्या अझै समाजमा लुकेर बसेको छ । अझ आन्दोलनकै क्रममा राजधानीबाट लुटिएका १२ हजार हातहतियारमध्ये ८ हजार भन्दा धेरै आधुनिक हतियारको अत्तोपत्तो छैन । यसले नागरिकलाई सुरक्षित र शान्तिसँग बस्न पाउने अवस्थामा ठूलो चुनौती खडा गरेको दंगीशरण गाउँपालिका–२ का क्रिमलाल चौधरीको भनाइ छ । यस्तो चुनौती न्यूनिकरण गर्न समाजमा लुकेर बसेका कैदीबन्दीहरुलाई पुनः कारागार पठाउने वातावरण सिर्जना गर्नुपर्ने नागरिक समाज दाङका संयोजक निमबहादुर थापाको भनाइ छ । कानुनले कहीँ गए पनि छोड्दैन भन्ने कुरा बुझाएर कैद भुक्तानका लागि कारागार पठाउन परिवारजनमा सन्देश पठाउन जरुरी रहेको उहाँको भनाइ थियो । त्यसो त प्रहरीले राजधानीबाट लुटिएका हतियार र भागेका कैदीबन्दी गिरफ्तारका लागि लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुरले टिम खटाइसकेको छ भने सम्बन्धित जिल्ला प्रहरीलाई कैदीबन्दी गिरफ्तार गरी कारागार फिर्ताका लागि परिपत्र पनि गरिसकिएको डिएसपी शाहले बताउनुभयो ।

शान्ति सुरक्षा कायम गर्न सरकारी पक्षले काम थालिसकेको बताइरहेकै बेला दाङमा नागरिक स्तरबाट पनि नागरिक सुरक्षाका लागि टोल सुरक्षा समिति बनाएर गस्ती थालिएको छ । तुलसीपुर उपमहानगरपालिका–१८ मा १० वटा टोल सुरक्षा समिति गठन गरी प्रहरीको समन्वयमा रातदिन गस्ती गर्न थालिएको वडाध्यक्ष माधव वलीले बताउनुभयो । ‘राजनीतिकरुपले तरल अवस्था छ, प्रहरीको मनोबल गिराइएको छ, सरकारी कार्यालय, व्यक्तिका घर, निजी सम्पतिमा पनि लुटपाट र आगजनी हुँदा गलत मनसाय भएका व्यक्तिहरुको मनोबल बढ्न सक्ने जोखिमलाई मध्यनजर गर्दै टोल सुरक्षा समिति गठन गरी गस्ती थालेका हौं ।’ वडाध्यक्ष वलीले भन्नुभयो । दाङमा आन्दोलनका क्रममा ट्राफिक प्रहरीका पोशाक, सञ्चार सेट लुटपाट भएको र ती सामग्रीको दुरुपयोग हुनसक्ने चुनौती पनि उत्तिकै छ । तर दाङ प्रहरीले सूचना जारी गर्दै कुनै शंकास्पद गतिविधि वा व्यक्ति देखिए तुरुन्त प्रहरीको १०० नम्बरमा खबर गर्न सबैमा अनुरोध गरेको छ ।

जयनारायण पुन

अन्य

भिडियो