इन्सेकर्मीहरूको एक टोलीले प्रदेश ५ का मुख्यमन्त्री शङ्कर पोखरेलसँग पुस ५ गते भेट गरी प्रदेश ५ को मानव अधिकार अवस्थाका विषयमा छलफल गरेको छ ।

छलफलका क्रममा मुख्यमन्त्री पोखरेलले समाजमा महिला हिंसाका घटना बढेको उल्लेख गर्दै जनचेतनाका कारणले पनि मानव अधिकारका घटनामा बृद्धि भएको देखिएको बताए । ‘वास्तवमा घटना बढेको होइन । सार्वजनिक हुने क्रममात्रै बढेको हो ।’–उनले भने ।
बाहिर आएका हल्लाका पछाडि लाग्न नहुने बताउँदै मुख्य मन्त्री पोखरेलले प्रदेश सरकारको काममा सबै सरोकारवाला निकायको सहयोग आवश्यक रहेको बताए ।
प्रदेश प्रमुखसँगको भेटमा इन्सेककी अध्यक्ष डा. ईन्दिरा श्रेष्ठले मानव अधिकारसम्बन्धी कानुन निर्माणमा वा मानव अधिकारका कार्यक्रमहरूमा इन्सेकलाई पनिसँगै लिएर जान आग्रह गरिन् ।
इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमले इन्सेकले कानुनी सचेतना अभियान सञ्चालन कार्य सुरू गर्ने योजना रहेको हुँदा यसमा प्रदेश सरकारको सहकार्य आवश्यक रहेको बताए ।
मुख्यमन्त्री पोखरेलसँगको भेटमा इन्सेककी अध्यक्ष डा. श्रेष्ठ, कार्यकारी निर्देशक गौतमसँगै सात ओटै प्रदेशका संयोजकहरूको उपस्थिति रहेको थियो ।