घोराही उमनपाले नगर क्षेत्रका विभिन्न उद्योग तथा पसलमा काम गर्ने १४ जना बाल श्रमिकको उद्धार गरी पुस ३ गते परिवारको जिम्मा लगाएको छ ।
उमनपाले झण्डै एक महिना लगाएर उद्वार गरिएका बाल श्रमिकहरूलाई अभिभावकको जिम्मा लगाएको हो । बालमैत्री उपमहानगर बनाउने अभियान थालेको उपमहानगरले अहिलेसम्म १ सय २० जना बाल श्रमिकको उद्धार गरी विद्यालय भर्ना गरिसकेको छ ।
उद्धार गरिएका बाल श्रमिकहरूमा घोराही उपमनपा–१४ का सन्दिप परियार, विकास बिक, सागर बुढाथोकी, चन्दा विश्वकर्मा, विजय बिक, सोही उपमनपा–१५ का धनबहादुर डाँगी, कमल सार्की, वडा नम्बर ३ का आशिर्बाद चौधरी, वडा नम्बर १३ का मिलन परियार, प्रेम बिक र वडा नम्बर ७ का तुलसा बिक रहेका छन् ।
त्यसैगरी अन्यत्रबाट घोराहीमा काम गर्न बसेका तुलसीपुर उपमनपा–१८ का सुरेश नेपाली, बङ्गलाचुली गाउँपालिका–४ का धनबहादुर घर्ती र केशव नेपालीलाई पनि कार्यस्थलबाट उद्वार गरेर परिवारमा पुनःस्थापना गरिएको हो ।
उनीहरूलाई विद्यालय जानका लागि दुई जोर पोशाक, झोला, कापी, कलम उपलब्ध गराइएको छ भने अभिभावकलाई आय आर्जनका लागि नगद १५ हजार रुपिँयाका दरले हस्तान्तरण गरिएको घोराही उमनपाका प्रमुख नरुलाल चौधरीले बताए ।
उमनपाले नजिकका विद्यालयमा बालबालिकाहरूलाई विद्यालय भर्ना समेत गरिदिएको छ । उनीहरूलाई ग्रिल उद्योग, गाडी धुलाई सेन्टर, होटल, फर्निचर उद्योग, जुत्ता सिलाउने पसलबाट उद्धार गरिएको उमनपाले जनाएको छ ।