७० औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा राष्ट्रिय मानव अधिकार आयोग प्रदेश ५, इन्सेक रुपन्देही, निलहिरा समाज रुपन्देही र मानव अधिकार तथा शान्ति समाजको सहकार्यमा रुपन्देहीका सामुदायिक तथा संस्थागत तीन ओटा विद्यालयहरूमा अन्तरक्रिया गरिएको छ ।
कालिका उच्च मावि बुटवल, इन्भारोमेण्ट बोर्डिङ्ग स्कुल मणिग्राम र लुम्बिनी इङ्गलिस बोडिङ्ग स्कुल बुटवलमा मानव अधिकार, महिला अधिकार बाल अधिकार र लैङ्गिक तथा अल्पसङ्ख्यकका अधिकारका विषयमा विद्यार्थीहरूसँग अन्तरक्रिया गरिएको छ ।
समानता, न्याय र मानवीय मर्यादाका लागि जागौँ भन्ने मुल नारा सहित ७० औँ अन्तराष्ट्रिय दिवसका अवसरमा यस्तो अन्तरक्रिया गरिएको हो ।
अन्तरक्रियामा राष्ट्रिय मानव अधिकार आयोग प्रदेश ५ का प्रमुख पवनकुमार भट्टले मानव अधिकारको इतिहास, मानव अधिकारको सन्दर्भमा बाल अधिकार र राष्ट्रिय मानव अधिकारको काम कर्तव्य र अधिकारका विषयमा सहजीकरण गरेका थिए ।
कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि रीमा बिसीले लैङ्गिक हिंसा विरूद्धको १६ दिने अभियान, महिला तथा बालिकामाथि हुने हिंसा, जिल्लाको समग्र मानव अधिकारको अवस्थाको विषयमा सहजीकरण गरेकी थिइन् ।
कार्यक्रममा निलहिरा समाज रुपन्देहीका अध्यक्ष आनिक रानाले समाजमा लैङ्गिक तथा अल्पसङ्ख्यकलाई हेर्ने दृष्टिको परिवर्तन गर्नका लागि विद्यालयबाटै सुरूवात गर्नुपर्ने भन्दै घरपरिवार समाजले तेस्रो लिङ्गीलाई हेर्ने दृष्टिकोण बदल्न विद्यार्थी भाइबहिनीको भूमिकाका विषयमा सहजीकरण गरेकी थिइन् ।
७० औँ अन्तराष्ट्रिय मानव अधिकार दिवसको अवसरमा दीप प्रजलन
७० औँ अन्तराष्ट्रिय मानव अधिकार दिवशको पूर्वसन्ध्या मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, राष्ट्रिय मानव अधिकार आयोग प्रदेश ५, इन्सेक रुपन्देही लगायतको सहकार्यमा बुटवलको राजमार्ग चौराहामा दीप प्रज्वलन गरी मनाइएको छ ।
दीप प्रज्वलन कार्यक्रममा मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सचिव भरतमणी रिजालले मानव अधिकार अधिकारको संरक्षण, प्रवर्धन र परिपालनाका लागि सरकार प्रतिवद्ध रहेको भन्दै मानव अधिकारमैत्री कानुन निर्माणका लागि आफूहरू क्रियाशील रहेको बताए ।
राष्ट्रिय मानव अधिकार आयोग प्रदेश ५ का प्रमुख पवनकुमार भट्टले कानुनको परिपालना गर्ने काम राज्यको दायित्व भएको बताए ।
इन्सेक जिल्ला प्रतिनिधि रीमा विसीले आफ्नो अधिकारको प्रयोग गर्दा अरूको अधिकारको संरक्षण गर्न र मानव अधिकारमैत्री संस्कृतिको विकास गर्नका लागि सबैले ध्यान दिनु पर्ने बताइन् ।









