३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालयले राजपा नेपाल सप्तरीका कोषाध्यक्ष छिन्नमस्ता गाउँपालिका–५ लोखरमका ३५ वर्षीय मनोजकुमार मेहतालाई गिरफ्तार गरी मङसिर १६ गते बलात्कार एवम् ठगीको उजुरी दर्ता गरेको छ ।
अपहरण तथा शरीर बन्धक मुद्दामा पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा रहेका पीडितका पतिलाई छुटाई दिने प्रलोभन देखाई मेहताले पटकपटक गरी १० लाख ४५ हजार रुपियाँ ठगी गर्नुका साथै राजविराज नपा–४ स्थित अशोक लजमा लगेर बलात्कार गरेको आरोपमा गिरफ्तार मेहताविरुद्ध मङसिर १६ गते ठगी तथा बलात्कार दुवै उजुरी दर्ता गरिएको डिएसपी भावेश रिमालले बताए ।
पीडितका अनुसार पछिल्लो पटक असोज १९ गते जेलमै भेट भएका मेहताले न्यायाधीशको मानिससँग भेटेर कुरा मिलाउन जाउँ भन्दै लजको कोठामा लगेर सुरूमा कुटपिट गरी बलात्कार गरेका हुन् ।
पीडितले तत्कालै दिएको उजुरी जिल्ला प्रहरी कार्यालयले बेवास्ता गरेपनि हाल आएर विश्वास गरी कारवाही थालेको बताइन् ।
राजपा नेपाल सप्तरीको अध्यक्ष मण्डलका सदस्य सुनिल झाले जिल्ला कोषाध्यक्ष पदमा रहेका मेहता ठगी र बलात्कारको आरोपमा गिरफ्तार भएकोबारे साथीहरूले भनेपछि थाहा पाएको बताए ।