INSEC Online

📅 २०८३ जेष्ठ २१

शिशु सहित सुत्केरीलाई घर निकाला

घोराही उपमनपा-१० की २५ वर्षीया दुर्गा वलीले आफूलाई सुत्केरी भएको ११ दिनमा २६ वर्षीय पति हेमराज वलीले नवजात शिशुसहित घर निकाला गरेको भन्दै मङ्सिर ४ गते पत्रकार सम्मेलनमा जानकारी दिएकी छन् ।

पीडित महिलालाई शिशुसहित आरोपित हेमराज वलीले कात्तिक ९ गते शिशुको न्वारनको दिन घरबाट निकालेको पीडितले बताइन् ।

Photo20181121Dang

बालिकाको न्वारन भएकै दिन माइतीघर जानुपर्ने चलन रहेको भन्दै हेमराजले माइतीघर जान दबाब दिएपछि माइती बोलाएर रोल्पा पुगेको र कात्तिक २४ गते घर फर्केपछि घरमा बास बस्न नदिएको उनले बताइन् ।  पीडित ३६ दिनकी छोरी बोकेर न्याय माग्दै सडकमा हिँडिरहेकी छन् ।

पतिले अपहेलना गरेको भन्दै कात्तिक २८ गते घोराही उमनपाको न्यायिक समितिमा उजुरी दिएकी दुर्गाले कुरा नमिलेपछि कात्तिक ३० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् ।

प्रहरीले छलफलका लागि हेमराजलाई बोलाएर ल्याउ हामी बोलाउन भ्याउँदैनौं भनेपछि मङ्सिर ४ गते घोराहीमा पत्रकार सम्मेलन गरेर न्यायका लागि पहल गरिदिन उनले अपिल गरेकी छन् ।

‘चिसोले अनुहारलगायत शरीर सुन्निएको छ । छोरी बिरामी छ । कतै गएपनि यहाँ हुँदैन भन्छन् । कतै नहुने भए म कहाँ जाँऊ ? ठाँउ देखाइदिनुस ।’-बालिका च्यापेर बसेकी दुर्गाले रूँदै भनिन् ।

हेमराजले बेवास्ता गरेपछि घर परिवारले पनि हेपेको र न्वारनका दिन छरछिमेकलाई निम्ता गर्न पनि आफूलाई नै पठाएको उनले आरोप लगाइन् ।

हेमराजले दुर्गालाई ‘चरित्रहीन’को आरोप लगाउँदै कात्तिक २८ गते जिल्ला अदालतमा सम्बन्ध विच्छेदको माग गर्दै मुद्दा दायर गरेको पत्रकार सम्मेलनमा जानकारी दिइन् । पीडितले सम्वन्ध विच्छेद गर्न सुनियोजित रूपमा आफूलाई लाञ्छना लगाएको बताइन् ।

अन्य

भिडियो