INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपितहरू गिरफ्तार

१६ वर्षीया बालिकालाई ०७१ चैत १३ गते बलात्कार गरेको आरोपमा प्रहरीले राजविराज नपा-३ का २४ वर्षीय शम्भु साह र राजविराज नपा-५ का २८ वर्षीय नविन दत्तलाई मङ्सिर ३ गते गिरफ्तार गरेको छ ।

उच्च अदालत जनकपुर राजविराज इजलाशले ०७५ कात्तिक १५ गते कारागारमा थुनामा राखी पुर्पक्ष गर्नु भन्ने आदेश दिएका आधारमा आरोपितहरूलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका एसपी राजेन्द्र विष्टले बताए ।

राजविराज नपा-५ स्थित भुपेन्द्र यादवको घरमा डेरा गरी बस्ने अमरकुमार यादवको कोठामा सामूहिक बलात्कार गरेको आरोपमा आरोपितहरूसहित साविक मलेठ गाविस-७ का २१ वर्षीय फुदिन खान, राजविराज नपा-५ का २५ वर्षीय कमलकिशोर साह, नर्घो गाविस-९ का २० वर्षीय दिपेशकुमार यादव, तेरहौता गाविस-३ का २५ वर्षीय जितेन्द्र मण्डल खंग र सुनसरी जिल्ला सतेरझोरा गाविस-२ का १८ वर्षीय दिपक खेरवार यादवविरूद्ध पीडितले जिल्ला प्रहरी कार्यालयमा ०७१ चैत १३ गते उजुरी दिएकी थिइन् ।

राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पताल र मोरङ जिल्लास्थित विराटनगरमा उपचार गराएकी पीडितको स्वास्थ्य परीक्षण राजविराजस्थित सगरमाथा अञ्चल अस्पतालमा ०७१ चैत १३ गते गरिएको थियो ।

आरोपितहरूविरूद्ध जिल्ला प्रहरी कार्यालयमा ०७१ चैत २४ गते बलात्कार मुद्दा दर्ता गरिएको थियो । आरोपितहरूमध्ये जितेन्द्र र दिपकलाई प्रहरीले चैत २५ गते गिरफ्तार गरेको थियो ।

जिल्ला अदालतको आदेशमा आरोपित जितेन्द्र ०७२ वैशाख २४ गतेदेखि पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा थिए भने दिपक सोही दिन साधारण तारेखमा रिहा भएका थिए ।

आरोपितहरूमध्ये फुदिन, शम्भु, नविन, कमल, दिपेश, भुपेन्द्रलाई सोही दिन अदालतले वारेण्ट पूर्जी जारी गरेको थियो ।

जिल्ला अदालतको आदेशमा ०७२ वैशाख २४ गते साधारण तारेखमा रिहा भएका दिपकलाई थुनामा राखेर पुर्पक्ष गर्न पुनरावेदन अदालतले ०७२ जेठ २८ गते आदेश गरेपछि फरार थिए ।

आरोपित कमल भनिने कमलकिशोर साहलाई राजविराज नपा-५ बाट प्रहरीले ०७२ फागुन १८ गते राति गिरफ्तार गरेको थियो ।

आरोपितमध्ये जिल्ला अदालतलको इजलाशमा जितेन्द्र, कमल र दिपकले ०७३ जेठ २४ गते अभियोग दावीबाट सफाई पाएका थिए भने शम्भु, नविन, फुदिन र दिपेशको हकमा मुद्दा मुल्तवी राखी दिने ठहरी अंश रोक्काको फैसला भएको थियो ।

जिल्ला अदालतमा ०७३ पुस ८ गते हाजिर भएका शम्भु र नविन तथा ०७४ वैशाख ५ गते हाजिर भएका फुदिनलाई हाजिर भएकै मितिमा जिल्ला अदालतले जनही ४० हजार रुपियाँ धरौटी राखी तारेखमा रिहा गरेको थियो ।

सो आदेश बेरितको भएको भन्दै बदर गरी थुनामा राखी कारवाही गर्न माग गर्दै जिल्ला न्याधिवक्ताको कार्यालयले ०७५ असार ५ गते अदालती बन्दोवस्तको १७ नम्बर बमोजिम दिएको निवेदनमा उच्च अदालतले ०७५ कात्तिक १५ गते पुर्पक्षका लागि थुनामा राखी कारवाही गर्ने आदेश गरेपछि प्रहरीले उनीहरूलाई गिरफ्तार गरेको हो ।

अन्य

भिडियो