INSEC Online

📅 २०८३ जेष्ठ २१

कथित बोक्सी आरोपमा बृद्धमाथि कुटपिट, घटनाका आरोपित गिरफ्तार

सिद्धलेक गाउँपालिका–४ गौथलेमा सेनाका जवान र गाउँका तीन जना झाँक्री मिलेर ६७ वर्षीया एकल बृद्धालाई कथित बोक्सी आरोपमा कुटपिट गर्दा घाइते भएकी छिन् ।

पीडित महिलालाई नेपाली सेनाको पूर्वी पृतना राजदलगणमा कार्यरत ३५ वर्षीय धनबहादुर थापा, ४५ वर्षिय हर्कबहादुर पुलामी, ६३ वर्षिय खोलबहादुर पुलामी र ५५ वर्षिय थम बहादुर मगरले कात्तिक २८ गते साँझ ७ बजे कथित बोक्सी आरोपमा एकल महिलालाई कथित बोक्सी मन्त्र गरेर धनबहादुरको मुटु खाएको भन्दै कुटपिट गरेको पीडित पक्षको आरोप छ ।

पीडित महिलालाई मानसिक तथा शारीरिक यातना दिएको आरोपमा चार जनालाई प्रहरीले कात्तिक २९ गते गिरफ्तार गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

उनीहरूविरुद्ध कथित बोक्सी आरोपमा कात्तिक ३० गते मुद्दा दर्ता गरी जिल्ला अदालतले हिरासतमा राखेर अनुसन्धान गर्न मङ्सिर २ गते प्रहरीलाई अनुमति समेत दिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी श्यामकुमार महतोले बताए ।

तिहार मनाउन घर विदामा आएका मगरले आफूलाई मुटु दुखेको र पीडित महिलाले कथित बोक्सी बनेर मुटु खान खोजेको भन्दै आरोप लगाई मरणासन्न हुने गरी कुटपिट गरेको र गाउँमा झारफुक गरी हिँडने अरू तीन जनालाई बोलाएर ‘बोक्सी हो’ भन्न लगाई कुटपिट गर्दै मलमुत्र समेत खुवाउन खोजेको पीडित परिवारले जनाएको छ ।

कुटपीटबाट घाइते भएकी बृद्धालाई जिल्ला अस्पताल धादिङमा प्राथमिक उपचारपछि थप उपचारका लागि काठमाडौँको स्टार अस्पतालमा भर्ना गरिएको छ ।

आरोप पुष्टि भएमा पाँच वर्ष सम्म कैद र ५० हजारसम्म जरिवाना र पीडितलाई क्षतिपूर्ति समेत भराउनुपर्ने कानुनी व्यवस्था रहेको छ ।

अन्य

भिडियो