नेपाली कांग्रेसको भ्रातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घ उदयपुरले कात्तिक २६ गते साँझ प्रधानमन्त्रीको पुत्लादहन गर्ने क्रममा भएको झडपमा एक सुरक्षाकर्मी र एक प्रदर्शनकारी घाइते भएका छन् ।

नेविसङ्घका कार्यकर्ताहरूले सदरमुकाम गाईघाटको लोकतान्त्रिक चोकमा प्रधानमन्त्रीको पुत्ला जलाउने क्रममा सुरक्षाकर्मीसँग झडप भएको थियो ।
आगो सल्किएको पुत्ला खोसाखोस गर्ने क्रममा आगोले सशस्त्र प्रहरी बल ५ नं गण उदयपुरका प्रहरी हवल्दार ३६ वर्षीय लक्ष्मणबहादुर श्रेष्ठ र नेविसङ्घ जिल्ला सदस्य रौतामाई गाउँपालिका-४ पोखरीका २० वर्षीय प्रल्हाद खत्री घाइते भएका हुन् ।

पेट्रोलसहितको आगोको लप्काले प्रहरी हवल्दार श्रेष्ठको आँखामा असर पर्ने गरी जलेको छ भने कार्यकर्ता खत्रीको दुवै हातका छालाको भाग जलेर चोट लागेको प्रहरीले जनाएको ।
घाइते श्रेष्ठको आँखामा चोट लागेकाले थप उपचारका लागि सगरमाथा चौधरी आँखा अस्पताल लाहान लगिएको छ भने खत्री जिल्ला अस्पताल उदयपुरमा सामान्य उपचारपछि घर फर्किएका छन् । काभ्रेका नेविसङ्घ कार्यकर्तालाई गिरफ्तार गरेको विरोधमा उनीहरू प्रदर्शनमा उत्रिएका थिए ।
प्रधानमन्त्री केपी ओलीको तस्वीर बिगारेर फेसबुकमा शेयर गरेको आरोपमा तपेश्वर उच्च मावि काभ्रेका इकाई अध्यक्ष कृष्ण ढकाललाई प्रहरीले गिरफ्तार गरेको थियो ।