मानव अधिकार संरक्षणमा सबैको साझा प्रतिवद्धता आवश्यक रहेको रामेछापका सरोकारवालाहरूले बताएका छन् ।
लैङ्गिक हिंसा विरूद्धको १६ दिने अभियानको समापन तथा भ्रष्टाचार विरूद्धको दिवस र अन्तराष्ट्रिय मानव अधिकार दिवसको अवसरमा मङ्सिर २४ गते मन्थलीमा आयोजित रामेछापको मानव अधिकार अवस्थाको समीक्षा कार्यक्रमका सहभागीले सो कुरा बताएका हुन् ।
कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति रामेछापका प्रमुख प्रेमबहादुर खड्काले सबै कुरा व्यवस्थामा नचलेसम्म मानव अधिकार उल्लङ्घनका घटना नरोकिने बताउनु भयो ।
उहाँले इन्सेकको तथ्याङ्कले समस्या कहाँनेर छ ? भन्ने कुरा देखाएकोले तिनै समस्या समाधानको लागि सम्बन्धित सबै पक्ष लाग्नु पर्ने बताउनु भयो ।
मन्थली नगरपालिकासँगको समन्वय तथा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), मानव अधिकार सचेतन तथा विकास केन्द्र (हुराडेक) नेपाल दोलखा र मानव अधिकार संरक्षण सञ्जाल रामेछापले अयोजना गरेको सो कार्यक्रममा बोल्दै मन्थली नगरपालिकाका प्रमुख रमेशकुमार बस्नेतले सबैले अरूको मानव अधिकारको सम्मान गरे मानव अधिकार संरक्षण हुने बताउनु भयो । उहाँले मानिसहरूको सुखभोग गर्ने लालसा रहेसम्म भ्रष्टाचार रोक्न नसकिने बताउनु भयो ।
कार्यक्रमाम इन्सेकले नेपाल मानव अधिकार वर्ष पुस्तक २०२० का लागि यस वर्ष २२ ओटा घटना सङ्कलन गरेको जानकारी दिइएको थियो ।
यस वर्ष सबैभन्द बढी बालात्कारका पाँच ओटा घटनाहरू सार्वजनिक भएको इन्सेक जिल्ला प्रतिनिधि नवराज पथिकले जनाकारी दिनु भयो ।
यसपछि जातीय विभेदका दुई, शिशु हत्याका दुई, महिला हत्याका दुई, हातपात र कुटपिटका पाँच, महिला हिंसा, विष्फोट, गिरफ्तारी, उपभोक्ताका अधिकारलगायतका घटना सङ्कलन गरिएको उहाँले जानकारी दिनुभयो ।
यस वर्ष जिल्ला प्रहरी कार्यालय रामेछापमा विभिन्न ३० ओटा घटनाहरू दर्ता भएको प्रतिवेदन कार्यक्रममा प्रहरीले प्रस्तुत गरेको थियो ।
ती मध्ये नौ ओटा घटनाहरू फस्र्यौट भइसकेको र बाँकी प्रक्रियामा रहेको जिल्ला प्रहरी कार्यालय रामेछापका इन्स्पेक्टर रविभुषण यादवले जानकारी दिनु भयो ।
मन्थली नगरपालिकाको न्यायिक समितिमा यस वर्ष १४ ओटा घटना दर्ता भएको कानुन अधिकृत सुदर्शन रायले जानकारी दिनु भयो ।


